काठमाडौं :
नेपाल क्षेत्रको सफल प्रस्तुति ‘होस्टेल ३’कोे टिमले अर्को फिल्मको घोषणा गरेका छन्। यो टिमले सोही सृजनात्मक टिमले फेरि नयाँ र विचारोत्तेजक कथा लिएर आउने घोषणा गरेको छ।
निर्माण टिमले बुधवार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ घोषणा गरेको हो। सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ। यस फिल्मले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले बताए। फिल्मको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताका सोचलाई भनेर चित्रण गरिएको छ। जसको डिजाइन रोयल भीमसेनले गरेका हुन्।
नेपाली समाजमा बढ्दो पुस्तागत टकराब र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए। फिल्मले केवल बाउ र छोराबीचको भौतिक दूरी होइन, सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए।
यसअघि ‘होस्टेल ३’माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनमा बनेको थियो, जसले प्रदर्शनको ५१ दिन पुरा गरेको थियो। ‘बाउ भर्सेस छोरा’को थप विवरण, कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताइएको छ। यस फिल्मका कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। फिल्मको स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको जनाइएको छ।