पर्वत,
पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले उप्रप्रमुखको जिम्मेवारी र राजनीतिसंगै आफ्नो कृषि पेसालाई समेत निरन्तरता दिएकी छन् । फलेवास नगरपालिका–१० कुर्घाकी क्षेत्रीले व्यावसायिक काँक्राखेती गर्दै आएकी छन् । उनको काँक्राखेती हरियो काँक्रा उपभोग गर्नका लागि नभई भक्तपुरे लोकल जातको काँक्राको मूल बीउ उत्पादनका लागि हो ।
काँक्रासँगै क्षेत्रीले टनेलभित्र टमाटर र मौसमअनुसारका तरकारी उत्पादन गर्दै आइएकी छन् । गाउँ छोडेकाको खेत भाडामा लिएर जेठो बूढो धानको बीउ उत्पादन गरेर बिक्री गर्छन् । कुनै समय दूध, तरकारीलगायत कृषि उपजको बिक्रीबाट मासिक दुई लाख रुपैयाँभन्दा बढीको आम्दानी गरेकी उनले उपप्रमुख भएपछि जनताको सेवामा बढी खटिनुपर्दा आम्दानी घट्दै गएको बताइन् । तर पनि राजनीति र कृषिलाई सँगसँगै अघि बढाउने आफ्नो प्रयासमा कमी नआएको उनको भनाइ छ । आफूले कृषि र यस पेसाबाट पाएको सफलताबाट अरू किसानलाई पनि सफलताकै बाटोमा डोहोर्याउने उनको इच्छाले समेत सार्थकता पाउँदै गएको उनको भनाइ छ ।
क्षेत्रीले २०५६ सालदेखि व्यावसायिक गाईपालन र तरकारीखेती गर्दै आएकी छन् । अहिले उनले सात रोपनी क्षेत्रफलमा व्यावसायिक काँक्राखेती गरेकी छन् । उनले हरेक वर्ष पाँचदेखि सात लाख रुपैयाँसम्म काँक्राको बीउ बिक्री गरेर आम्दानी गर्दै आएकी छन् । सुरुवातको समयमा होटल र किराना व्यवसाय संलग्न समेत शोभाको परिवारले विगत दुई दशकदेखि गाईपालनदेखि तरकारी खेतीमार्फत व्यवसायिक कृषिमा आवद्ध छन ।
उपप्रमुख क्षेत्रीले नै काँक्राखेतीलाई निरन्तरता दिएपछि गाउँलेसमेत काँक्राको व्यावसायिक उत्पादनमा सक्रिय भएर लागेका छन् । उनको पेसामा श्रीमान् सोमबहादुरले साथ दिएका छन् । गत वर्ष केही कम आम्दानी भएकामा यस वर्ष अनुकूल हावापानी र मौसमले उत्पादन पनि बढेकाले काँक्राको आम्दानी पनि बढ्ने अनुमान सोमबहादुरले गरेका छन् ।
उपप्रमुख क्षेत्रीको परिवारले मात्र रु ७ लाख सम्मको काक्राको बिउ उत्पादन गर्दै आएको छ । नगरपालिकाको साँझ बिहानको काम बाहेक परिवारको साथमा आफुपनि तरकारी बारीमा सक्रिय हुने गरेको क्षेत्रीले अनुभव सुनाईन ।
उनले आफू उपप्रमुख भएपछि धेरैजसो कृषकमुखी कार्यक्रम नगरबाट ल्याउन सफल भएको दाबी गरिन् । उनी तत्कालीन सत्ता गठबन्धन माओवादी केन्द्रबाट विजयी भएकी हुन् ।
‘सबैलाई व्यावसायिक बनाउने हो, त्यसका लागि नगरपालिकामा हामी सबै हातेमालो गर्न आएका हौँ । जनप्रतिनिधि शासक नभएर सेवक हौँ भन्ने भावना भए सफल भइन्छ भन्ने लागेको छ,’ उनले भनिन् ।
फलेवास नगरपालिकाका कुर्घा, देवीस्थान, पाङ्गराङ्ग र विहादी गाउँपालिकाको बाँच्छाका किसानले व्यवासायिक रूपमा भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् । यहाँ काँक्राको बीउ बिक्री गरेर वार्षिक छ करोड रुपैयाँ भित्रिने गरेको छ ।