काठमाडौं :
गत जेठ ९ गते शुक्रबारबाट महानायक राजेश हमालको कमव्याक फिल्म ‘नरसिंहाः अवतार’ देशव्यापी प्रदर्शनमा आएको छ । ८ वर्षपछिको कमव्याक भएकाले पनि फिल्म दर्शकको प्रतिक्षामा थियो। जसको प्रभाव बक्सअफिसमा देखिएको छ ।
यो फिल्मले प्रदर्शनको २ दिन शुक्रबार र शनिबार उत्साहजनक सुरुवात गरेको छ । वितरक करण श्रेष्ठका अनुसार फिल्मले शुक्रबार बिहानी शोमा ४० प्रतिशत अकुपेन्सी देखिएपनि दिउँसोदेखि साँझमा शोमा ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको थियो । शनिबार भने बिहानी शोबाट नै नरसिंहा अवतारमा दर्शकको उत्साहजनक साथ मिलेको छ ।
शनिबार काठमाडौं उपत्यकामा मात्रै होइन मोफसलमा पनि महानायक हमालको क्रेज हलमा देखिएको वितरक श्रेष्ठले बताए। हलमा दर्शकको चापसँगै दर्शक प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ। फिल्मले उठाएको कथावस्तु, एक्सन पक्ष र महानायक हमालको अभिनय र अर्का अभिनेता श्रेष्ठ तथा अभिनेत्री सनिशा भट्टराईको अभिनयलाई दर्शकले मन पराएका छन्।
यससँगै शनिबार दर्शकसँग साक्षात्कार गर्न महानायक राजेश हमाल करिब १० बर्षपछि देशकै धेरै सिट क्षमता भएको हल अष्टनारायण पुगेका हुन् । उनी त्यहाँ पुग्दा करिब १ हजारबढि दर्शकले फिल्म हेरिरहेका थिए। फिल्म हेरिरहेका दर्शक अगाडी महानायक हमाल पुग्दा दर्शकले ताली र सिठ्ठी सहित स्वागत गरेका थिए। जहाँ हमालले दर्शकसँग सिनेमाको बारेमा प्रतिक्रिया लिँदै सेल्फी खिच्न तछाड मछाड नै चलेको थियो ।
दीवाकर भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा हमालसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी लगायतको अभिनय छ । क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको फिल्ममा लगानी छ । यसमा राजु विक्रम थापाको डीओपी र साहिल खानको सम्पादन छ ।