काठमाडौं :
अभिनेता दयाहाङ राई फिल्म ‘मिरमिरे’मा अनुबन्ध भएका छन्। उनलाई निर्माण पक्षले फिल्म ‘मिरमिरे’को मुख्य भूमिकामा अनुबन्ध गरेको हो।
फिल्म ‘कार्साङ’ फेम्ड निर्देशक यम शेर्पाको निर्देशनमा बन्न लागेको यो फिल्ममा दुवैको यो दोस्रो सहकार्य हो। निर्देशनका रुपमा शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष फिल्म रिलिजको घोषणा समेत गरेका थिए। सोही अनुसार यो फिल्मको काम अगाडि बढेको हो।
निर्देशक शेर्पाले मिडियासँगको कुराकानीमा भनेका छन्,हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो। स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो। अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौँ।
‘मिरमिरे’को लाइनअप बलियो हुने उनको भनाइ छ। अन्य कलाकार को–को हुनेछन्, त्यो भने उनले खुलाएका छैनन्।
यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ। थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन्। उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका देखिएको थियो। फिल्मको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंको रहनेछ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् । यो फिल्मको कार्यकारी निर्मातामा रोहित कट्टेल रहेका छन्। ‘मिरमिरे’लाई २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।