सुचना, समाचार र मनोरन्जन

‘किसानले भुक्तानी माग्दा दूध उठाउन कम गर्छन्’

 

चितवन : जिल्लाका केही दुग्ध उत्पादक डेरीहरूले दूध नउठाउने चेतावनी दिएका छन् । भुक्तानीका लागि दबाब दिन यहाँका दुग्ध उत्पादक सहकारी संस्थाहरूले सो चेतावनी दिएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले भने, “अहिले भुक्तानी माग गरेका सहकारीहरूबाट दूध उठ्न कठिन भएको छ ।” यहाँ उत्पादित दूध सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसि) र निजी कम्पनीले लैजाने गरेका छन् ।

 

उनका अनुसार जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीहरूले विभिन्न डेरीहरूबाट रु ८० करोड बढीको भुक्तानी पाउन बाँकी रहेको छ । सो रकममध्ये डिडिसीको रु ३५ करोड बढी रहेको छ भने अन्य रकम निजी डेरीहरूको हो । अध्यक्ष बगालेका अनुसार जिल्लाबाट ४० भन्दा बढी डेरीले दूध लैजाने गरेका छन् । ती डेरीहरूले भुक्तानी माग्दा दूध लैजान कम गर्ने गरेका हुन । उनले भने “किसानले भुक्तानी माग्दा दूध उठाउन कम गर्छन् ।” कतिपय डेरीहरूले नियमित लैजाने दूधबाट कटौती गरेर थोरै लैजान थालेको उनले जानकारी दिए ।

 

गत पुस १ गतेदेखिको भुक्तानी लिन बाँकी रहेको छ । यस्तै अवस्था आए दुग्ध उत्पादक किसान आन्दोलनमा आउन बाध्य हुने उनले बताए । जिल्लाबाट दैनिक एक लाख ५१ हजार लिटर दूध बाहिर जाने गरेको सङ्घले जनाएको छ । जसमध्ये ३५ हजार लिटर दूध डिडिसिले लाने गरेको छ । अहिले जिल्लामा दैनिक ३ लाख लिटर वढी दूध उत्पादन हुँदै आएको छ ।

 

किसानको भुक्तानी दिन ढिला गरे पछि सङ्घले स्थानीय प्रशासनलाई भुक्तानीका लागि सहजीकरण गन आग्रह गरेका छन् । किसानको समस्या समाधानका स्थानीय प्रशासन समन्वय गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले बताए । भुक्तानी दिन ढिला गर्ने उद्योगलाई सम्पर्क गरेर, बोलाएर छलफल गरिने उनले बताए। यस विषयमा गृह मन्त्रालय र कृषि मन्त्रालयसँग आफूले समन्वय गर्ने उनका भनाइ छ ।

Leave A Reply

Your email address will not be published.