सुचना, समाचार र मनोरन्जन

बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ

 

स्याङजा : यहाँका एक किसानले बाख्राको दुधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन्। भिरकोट नगरपालिका– ८, ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दुधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहेका हुन् ।

 

उनले वि.सं. ०७० मा ‘जुना बाख्रापालन फर्म’ दर्ता गरी व्यवसाय सुरु  गरेका थिए। पछिल्लो समय गुरुङले दुधबाट चिज उत्पादन गरिरहेका छन्। यहाँ अन्य किसानले पनि गाईभैँसीको दुधबाट चिज उत्पादन गरिरहेका वेला ओकादीका गुरुङले भने जिल्लामै पहिलोपटक बाख्राको दुधबाट चिज उत्पादन गरेका हुन्।

 

गुरुङको फर्ममा हाल सानाठुला गरी ५२ वटा बाख्रा छन्। यी स्थानीय खरी जातको माउ र विदेशी सानन जातको बोकाबिचमा क्रस गराइएका बाख्राहरू हुन्।  तीमध्ये १६ वटाले करिब १० लिटर दुध दिन्छन्, त्यसबाट दैनिक डेढ केजीसम्म चिज उत्पादन हुने गरेको छ । यसरी दिनहुँ उत्पादन हुने चिजलाई हरेक साताको एक दिन बजारीकरण गरिरहेको गुरुङले जानकारी दिए।

 

‘यहाँ उत्पादन भएको चिज पोखराका ठुला होटेलहरूमा बिक्री गरिरहेको छु । प्रतिकेजी रु. दुई हजारका दरले चिज बिक्री हुने गरेको छ । सुरुमा केही समस्या भए पनि पछिल्लो केही महिनायता मासिक १५० केजी चिज बिक्रीबाट रु. तीन लाखसम्म आम्दानी गरिरहेको छु,’ उनले भने, ‘चिजको माग उच्च छ, पुर्‍याउनै सकिएको छैन । उत्पादन वृद्धि गर्नका लागि दुधालु बाख्रा थप्ने तयारीमा छु ।’

 

बाख्राको दुधबाट चिज बनाउने सीप गुरुङले तनहुँको बन्दीपुरमा सिकेका थिए । त्यहाँ सिकेको सीपलाई घरमै प्रयोगात्मक अभ्यास गर्दै उनले व्यावसायिक उत्पादन गर्न थालेको बताए। हाल उत्पादन भएको चिजलाई थप गुणस्तरीय बनाउने, प्याकेजिङ सुधार र ब्रान्डिङ गर्ने काम भइरहेको गुरुङले बताए।

 

विगतमा भारतमा वायरिङसम्बन्धी काम गर्दै आएका गुरुङ अरूको भन्दा फरक व्यवसाय गर्ने सोचसहित स्वदेश फर्किएका थिए । त्यही सोचका साथ ०७० मा १२ वटा बाख्राबाट यो व्यवसायको जन्म भएको हो । ‘बाख्रा खरिद तथा खोर निर्माणमा रु. तीन लाख ५० हजार लगानी गरेको थिए । युवाहरूका लागि नमुना बाख्रा गाउँ अभियानमा जोडिएर अगाडि बढेको थिएँ, हाल महिनामै सुरुको लगानीजति आम्दानी गरिरहेको छु,’ गुरुङले सुनाए ।

नमूना बाख्रा गाउँ अभियानका अध्यक्ष सुशील अर्याल गुरुङले गरिरहेको काम फरक र अन्य युवाका लागि पनि अनुकरणीय रहेको बताउँछन् । ‘केही फरक सोचसहित काम गरेमा नेपालमै प्रशस्त सम्भावना छ । धेरैलाई बाख्राको दूध पनि उपयोग गर्न सकिन्छ भन्ने थाहा पनि छैन तर उहाँले हाम्रै अभियानबाट त्यसको प्रयोग विधि सिकेर राम्रो गरिरहनुभएको छ’, उनले भने ।

Leave A Reply

Your email address will not be published.