सुचना, समाचार र मनोरन्जन

‘अभिमन्यु : च्याप्टर–१’को काउन्ट–डाउन सुरु,भदौ २७ गते रिलिज

काठमाडौं :

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ले पोस्टर सार्वजनिक गर्दै काउन्ट–डाउन सुरु गरेको छ। बिहिबार निर्माण टिमले सयदिने काउन्ट–डाउन थालेको हो। यसको स्वरुप निर्माण टिमले पोस्टर पनि सार्वजनिक गरेको छ।

पोस्टरमा उल्लेख भएअनुसार अब यो सिनेमा रिलिज हुन ९९ दिन बाँकी छ। ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुँदैछ। पोस्टर तराइको सेटअपमा छ। धानबारीको फाँट र छेउमा केराको बगानले तराईको सेटअप देखाउँछ। धानबारीमा एक युवकले सानी नानीलाई सरकारी स्कुलको पोसाकमा आफ्नो हातमा किताब र कपी च्यापेर बोकेर लैजाँदै गरेको देखिन्छ। उनीहरू दुवै मधेसी समुदायका छन्।

आफ्नै बहिनी हो वा होइन स्पष्ट छैन । खेतको बीचमा छन् । स्कुल जाँदै वा फर्किंदै भए त बाटो हुनुपर्ने हो तर, छैन । स्कुले नानीको खुट्टामा चप्पल पनि छैन । स्कुल जाँदा त चप्पल वा जुत्ता त लगाइन्छ । त्यो पनि छैन । स्कुल जाँदा वा फर्किंदा अरु विद्यार्थी पनि हुनुपर्ने हो तर, छैनन् ।

यसले कतै यो अपहरण पो हो कि भन्न पनि सकिन्छ । सानी नानीलाई फकाएर अपहरण गरेको पनि पोस्टरबाट अनुमान लगाउन सकिन्छ। तर, हो नै भन्न सकिन्नँ। यसबारे निर्माण टिमले केही जानकारी दिएको छैन्।

फिल्म ‘अभिमन्यु ः च्याप्टर–१’ अहिले पोस्टप्रोडक्सनमा छ। मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ,लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन्। फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको सिनेमाको मुख्य कथा भएको बताइएको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमालाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि फिल्म ‘बाटो ः रोड टु डेथ’ निर्देशन गरेका थिए।

‘अभिमन्यु ः च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा,हरि मोक्तान, कृष्ण भट्टराई,नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

जीवन शाक्य लाइन प्रोड्यूसर रहेको यस चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक,मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन्।यस फिल्ममा शरद महतोको डिओपी रहेको छ। विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुने निर्माण पक्षको भनाई छ।

Leave A Reply

Your email address will not be published.