सुचना, समाचार र मनोरन्जन

गायक श्रेष्ठलाई सङ्गीततर्फ ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने

 

काठमाडौं : पाँच दशकभन्दा अघिदेखि गीतसङ्गीतको क्षेत्रमा सक्रिय वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ।

 

विसं २००७ मङ्सिर २६ गते सुनसरीको धरानमा जन्मनुभएका गायक श्रेष्ठले १८ वर्षको उमेरमा रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरी सङ्गीत क्षेत्रमा प्रवेश गरे।

 

उनले सङ्गीत क्षेत्रमा पुर्‍याएकोअतुलनीय योगदानको कदर गर्दै यस वर्ष दीर्घसाधना सम्मान प्रदान गर्ने घोषणा गरिएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिइन्। उक्त सम्मानको राशि रु दुई लाख र ताम्रपत्र रहेको छ।

 

श्रेष्ठले रेडियो नेपालबाट २०२७ साल र २०२८ सालमा पुरुषतर्फ उत्कृष्ट गायन उपाधि र २०३० सालमा स्वर्ण पदक प्राप्त गरेका थिए। उनले चार सय बढी गीत गाएका छन्।

 

प्रतिष्ठानले दीर्घसाधना सम्मानसहित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ पाउने नौ जना स्रष्टाको नामावली सार्वजनिक गरेको छ।

 

यही असार ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति भवन शीतलनिवासमा उक्त पुरस्कार तथा सम्मान प्रदान गरिने कुलपति शर्माले जानकारी दिइन्।

 

यस्तै ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ गायिका कुन्ती मोक्तान, वरिष्ठ सङ्गीत संयोजक राजु अग्रवाल, वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, वरिष्ठ रङ्गकर्मी हरिबादुर थापा र वरिष्ठ नाटककार वेदकुमारी न्यौपानेलाई प्रदान गरिने भएको छ।

 

खोज तथा अनुसन्धान नृत्य विधातर्फ खोज तथा अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेल (नृत्यानन्द), वरिष्ठ लोकगायक नारायण रायमाझी र वरिष्ठ शास्त्रीय सङ्गीत साधक कुशेश्वरप्रसाद राईलाई उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानकी सदस्य सचिव कुष्मा महरा ‘प्रगति’ ले जानकारी दिइन्।

 

उनका अनुसार सबै पुरस्कारको राशि जनही एक लाख र ताम्रपत्र रहेको छ।

Leave A Reply

Your email address will not be published.