सुचना, समाचार र मनोरन्जन

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासको बाटो खुल्यो, गाडीको लामो लाइन कायमै

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवासमा सडक एकतर्फी खुलेको छ । विनयी खोलामा आएको बाढीले गएराति अस्थायी डाइभर्सन भत्काएपछि सडक दुईतर्फी नै अवरुद्ध भएको थियो ।

सोमवार खोलामा बाढी आएपछि भत्काएको डाइभर्सन हिजो दिउँसो बनाएकोमा गएराति फेरि बगाएको थियो । अहिले सडक एकतर्फी खुलेसँगै गाडीहरू वारपार भइरहेका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।

लामो समय सडक अवरुद्ध भएको र सडक चिप्लो भएकोले पश्चिम नवलपरासीको बर्दघाटबाट दुम्कीवास र दुम्कीवासबाट पूर्वी नवलपरासीको चोरमारासम्म ४५ किलोमिटर लामो जाम भएको थियो । गएरातिदेखि जाममा परेका गाडीहरू अहिले बिस्तारै आफ्नो गन्तव्यतर्फ जान थालेका छन् । साना गाडी र यात्रुवाहक बसलाई पहिलो प्राथमिकतामा राखेर पठाइरहेको डीएसपी पन्तले जानकारी दिए ।

अहिले त्यस क्षेत्रमा इन्जिनियरसहितको टोली परिचालन गरेर छिटोभन्दा छिटो दुईतर्फी गाडी चल्न सक्नेगरी मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.