सुचना, समाचार र मनोरन्जन

नेपाली साहित्य र कला समेटिएको ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर बाहिरियो

काठमाडौं :

नेपाली भाषा, साहित्य, संस्कृति र यसको महत्व झल्काउने उद्देश्यका साथ निर्माण गरिएको फिल्म ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो।

ट्रेलरमा नेपाली भाषा र साहित्यको गरिमा, सांस्कृतिक पहिचान र इतिहास झल्काउन खोजिएको छ। कार्यक्रममा बोल्दै फिल्मका निर्देशक तथा अमेरिका निवासी साहित्यकार मित्र प्रधानले नयाँ पुस्तालाई नेपाली भाषासँग पुनः जोड्न र संरक्षणको अभियानस्वरूप यो फिल्म निर्माण गरिएको जानकारी दिए।

फिल्मका निर्माता तथा कलाकार रोशन श्रेष्ठले यो फिल्म हरेक नेपालीले हेर्नैपर्ने भएको बताए। कलाकार विजय बरालले फिल्मले नेपाली भाषा, साहित्य र कलासँग सम्बन्धित नयाँ धारको सन्देश दिने बताए। विल्सन विक्रम राईले फिल्मसँग आफू भावनात्मक रूपमा जोडिएको भन्दै फिल्मका लागि गीत पनि लेखेको जानकारी दिए। फिल्मकी अभिनेत्री आयुषा समालले विदेशमा रहेर पनि नेपाली भाषा र संस्कृतिलाई आत्मसात् गर्न खोजेको अनुभव सँगै साझा गरिन्।

असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’,आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन (मन्त्रीु) सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।

इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको फिल्ममा प्रस्तुतकर्ता मित्र प्रधान तथा निर्माता ज्ञानबहादुर प्रधान (रोशन) रहेका छन्। फिल्मको लेखन शिवम् अधिकारीले गरेका हुन् भने छायांकन सौरभ लामा, द्वन्द्व देव महर्जन, भिएफएक्स समिर मिया, कोरियोग्राफी कविराज गहतराज र प्रमोद भण्डारी, सम्पादन बनिश शाह, र सिजिआई सत्यम राना द्वारा गरिएको छ।

फिल्ममा संगीत दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राई को रहेको छ भने गीतका शब्द दीपक शर्मा,विल्सन विक्रम राई, शंकर अधिकारी घायल र खैजडी गीतका लागि अनिश अधिकारी द्वारा शब्द संकलन गरिएको हो। फिल्मको वितरण आर आर फिल्म्सले गर्नेछ।

Leave A Reply

Your email address will not be published.