काठमाडौं :
साइकोलोजिकल थ्रिलर शैलीमा निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’ को छायांकन सम्पन्न भएको छ। जेठ २२ गतेबाट काठमाडौं उपत्यकाभित्र विभिन्न स्थानमा सुरु गरिएको छायांकन २५ कार्यदिवसमा टुंगिएको हो।
यो फिल्मको निर्देशन बलिराम चौहानले गरेका छन्। ‘द ब्ल्यू लाइट’ उनको लागि डेब्यु निर्देशन हो। यसअघि उनले चर्चित फिल्म ‘बलिदान’मा लेखक तथा सह–निर्देशकका रुपमा काम गरेका छन्।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा,महेश त्रिपाठी,आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी छन्। बालकलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा को अभिनय रहनेछ। यस फिल्मबाट बेनिशा निर्मातामा रुपमा समेत दर्शकमाझ आएकी छन्।
फिल्मको छायांकन सकेपछि निर्देशक चौहानले भने,‘हामीले जे बनाउन खोजेका थियौं, त्यसमा सफल भएका छौं। अब पोस्ट(प्रोडक्सनको काम अघि बढ्छ। कलाकारहरूको अभिनयले कथा जीवन्त बनाएको छ, हामी अत्यन्त उत्साहित छौं।’
फिल्मको निर्माता रमन ग्रे हुन् भने कार्यकारी निर्मातामा छायाँकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन्। फिल्मलाई निर्माता मैनालीले नै खिचेका छन्। फिल्मको मुख्य सहायक निर्देशकमा आकाश उखेडा, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, र निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन्।
यसै वर्ष प्रदर्शनमा ल्याउने निर्माण पक्षको जोड रहेको छ। यसअघि यो फिल्मको यसअघि नै सार्वजनिक थिम पोस्टरमा एक बालिकालाई निलो प्रकाशको घेऱाबीच उभिएको रहस्यमय मुद्रामा देखाइएको थियो, जसले फिल्मको मनोवैज्ञानिक पृष्ठभूमि संकेत गर्छ। यस्तै, छायांकनकै क्रममा सार्वजनिक गरिएको पोस्टरमा बेनिशा हमाललाई बारमा चुरोट च्यापेर तनावपूर्ण मुद्रामा प्रस्तुत गरिएको थियो। निर्माण पक्षले फिल्मको कथावस्तु र पात्रहरूको विस्तृत विवरण हालसम्म सार्वजनिक गरेको छैन।