काठमाडौँ,
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीबास विनयी खोलामा पुल निर्माणको काम सकिएको छ । योसँगै विनयी खोलाको पुल भोलिदेखि सञ्चालनमा आउने भएको छ ।
पुल कालोपत्र गरिएसँगै भोलिदेखि पुलबाट गाडी चल्ने नारायणगढ–बुटवल सडक आयोजनाले जानकारी दिएको छ । यसअघि पुरानो पुल गएको पुस अन्तिम हप्ता भत्किएपछि डाइभर्सन बनाएर गाडी चल्दै आएका थिए ।
फलामे पुल भाँचिएपछि मालवाहक ट्रकहरू डाइभर्सनमार्फत तथा साना तथा यात्रुवाहक गाडी वैकल्पिक मार्ग होङ्शी गेट–सर्दी हुँदै दाउन्ने वारपार गर्दै आएका थिए । तर डाइभर्सन निरन्तर बाढीले बगाउने समस्या हुँदा सास्ती थियो ।
सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले निर्माण सम्पन्न पुल भोलिदेखि सञ्चालन गर्ने गरी अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो । त्यस्तै दाउन्ने क्षेत्रमा सडक विस्तारको काम पनि भइरहेको छ ।
विनयी खोलामा पुल बनेपछि केही सहज भए पनि दाउन्नेमा काम पूर्ण नहुँदासम्म यात्रुले समस्या झेल्नुपर्ने अवस्था छ ।