सुचना, समाचार र मनोरन्जन

बागमतीको बजेटमा दलहरू बिच सहमति जुट्यो

बागमती प्रदेश सभा सञ्चालनका विषयमा लिएर दलहरूबिच सहमति भएको छ। बिहीबार दिउँसो सभामुख भुवन कुमार पाठकको संयोजनमा बसेको सर्वदलीय बैठकमा दलहरूबिच सहमति जुटेको हो ।

बागमती प्रदेशका ६ दल बिच भएको छलफलमा बजेटमा छुटेका विषयलाई सम्बोधन गर्ने सहमति भएको हो। बैठकमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले प्रतिपक्षले उठाउँदै आएका विषयलाई समेट्ने गरी बैठकमा सहमति भएको बताए ।

बैठकले बजेटलाई सन्तुलित र व्यवस्थित बनाउन सरकारले आवश्यक काम गर्ने गरी लिखित सहमति गरिएको उनले बताए । उनका अनुसार सरकारले बजेटमा भएका कमीकमजोरी सुधार गर्दै टुक्रे योजनालाई समेत व्यवस्थापन गर्नेगरी सहमति गरेको छ । बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, एमाले सहित प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी सहभागी थिए ।

योसँगै पटक पटक रोकिँदै आएको बागमती प्रदेशसभा सञ्चालन हुने बाटो खुलेको छ। बिहीबार साँझ नै प्रदेशसभा बैठक सञ्चालन गर्ने गरी प्रदेशसभा सचिवालयले तयारी गरेको छ ।

यसअघि बिहान दिउँसो १ बजेका लागि बोलाएको बैठक २ बजेका लागि सारिएको थियो। २ बजे पनि बैठक बस्न नसकेपछि पूर्ण सूचना टाँस गरेर ५ बजेका लागि बैठक सारिएको थियो।

Leave A Reply

Your email address will not be published.