पोखराको होटल येलो पगोडामा जैविक सुरक्षा (Biosecurity),, प्रतिजैविक प्रतिरोध (AMR) र व्यवसायिक कुखुरा कृषकहरूका लागि कुखुरा कृषि आधुनिकीकरण सम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा कास्की जिल्लाका व्यवसायिक कुखुरा कृषक, पशु सेवा विज्ञ, कृषि प्राविधिक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त कार्यक्रम U.S. Soybean Export Council (USSEC),, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO),, को सहकार्यमा तथा नेपाल सरकारको साझेदारीमा आयोजना गरिएको हो।
कार्यक्रमको मुख्य उद्देश्य व्यवसायिक कुखुरा कृषकहरूलाई जैविक सुरक्षाको महत्त्व र यसको प्रभावकारी कार्यान्वयनबारे जानकारी दिनु, प्रतिजैविकको उचित प्रयोग र प्रतिरोधको जोखिम न्यूनीकरणबारे चेतना फैलाउनु, आधुनिक प्रविधि तथा प्रणालीको प्रयोगबाट कुखुरा उत्पादनलाई सुरक्षित र दिगो बनाउने उपायहरू अवलम्बन गर्न प्रोत्साहित गर्नु रहेको थियो।
प्रशिक्षणमा विशेषज्ञहरूले कृषि फार्ममा स्वच्छता, रोग नियन्त्रणका उपाय, आधुनिक खोर तथा आहार व्यवस्थापन, तथा उत्पादन वृद्धि गर्न सकिने प्रविधिहरूको बारेमा विस्तृत रूपमा प्रशिक्षण दिएका थिए। सहभागीहरूले आफ्ना अनुभवहरू पनि साझा गर्दै फरक–फरक चुनौतीहरूबारे छलफल गरेका थिए।

कार्यक्रमका आयोजकहरूले यस्ता सीप अभिवृद्धि कार्यक्रमहरू नेपालका विभिन्न क्षेत्रमा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्, जसबाट कृषकहरूलाई वैज्ञानिक तथा सुरक्षित खेती प्रणालीतर्फ अग्रसर गराउन सकिने विश्वास गरिएको छ।