काठमाडौं :
जातीय विभेद र अन्तरजातीय प्रेम सम्बन्धका विषयवस्तुमा केन्द्रित नेपाली चलचित्र ‘जदौ’ निर्माण हुने भएको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो।
‘नखाको बिषले सतायो, नचल्ने खोटी बनायो…’ जस्ता पंक्तिहरू समेटिएको गीत प्रस्तुतिसँगै सुरु भएको कार्यक्रममा चलचित्रले नेपाली समाजमा अझै पनि व्याप्त जातीय विभेदविरुद्ध आवाज उठाउने बताइएको छ। गीतकार प्रिति कौरद्वारा रचित उक्त गीत वाचन गर्दा उपस्थित माहोल केहीबेर स्तब्ध बनेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता “मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन…” वाचन गर्दै चलचित्रको शीर्षक ‘जदौ’ सार्वजनिक गरे।
चलचित्र ‘जदौ’ काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा तयार हुन लागेको हो। निर्देशक लिम्बूले आफूले वर्षौंदेखि देखेका र भोगेका जातीय विभेदसम्बन्धी यथार्थ घटनालाई चलचित्रमा उतार्ने प्रयास गरेको बताए। अर्का निर्देशक शर्माले समाजको यथार्थतालाई मनोरञ्जनात्मक शैलीमा दर्शकसमक्ष ल्याउने उद्देश्य रहेको जानकारी दिए।
चलचित्रमा मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, ऋचा शर्मा, अनिल सुब्बा र सिपी पुडासैनी (धतुरे) लगायत कलाकारको अभिनय रहनेछ। अभिनेत्री नीति शाहले आफूले निभाउने चरित्र आधुनिक भएको बताउँदै भूमिका प्रती उत्साहित रहेको बताइन्।
चलचित्रको छायांकन भदौ पहिलो साताबाट दाङ र प्युठानका विभिन्न स्थानमा सुरु हुने बताइएको छ। ‘जदौ’ को निर्माण सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा हुँदैछ।
फिल्मका सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा, नारायण शास्त्री, गोकुल केसी, अर्जुन खड्का, काजी केसी, सृजना शर्मा र मनिष शर्मा रहेका छन्। सिनेमाटोग्राफी श्याम तामाङ, कला निर्देशन चिरञ्जीवि भण्डारी, द्वन्द्व निर्देशन मिलन श्रेष्ठ र संगीत बाबुल गिरी तथा सरोज पोखरेलको रहनेछ।
घोषणा कार्यक्रममा सञ्चारकर्मीहरूबीच गरिएको गोलाप्रथाबाट ७ जना भाग्यशाली पत्रकारलाई दैनिक जीवनमा उपयोगी सामग्रीहरू उपहारस्वरूप प्रदान गरिएको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले सञ्चालनको जिम्मा सम्हालेका थिए।