सुचना, समाचार र मनोरन्जन

निता ढुङ्गाना र प्रमोद चौलागाईं अभिनीत ‘रियाल रिङ्गेट’को ट्रेलरले रुवायो

काठमाडौं :

 श्रावण १६ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको जीवनमा आधारित यथार्थ चित्रण प्रस्तुत गरेको छ।

ट्रेलरमा नेपाली युवाहरूले रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता र त्यस क्रममा उनीहरूले भोग्नुपरेका कठोर अवस्थाहरू देखाइएको छ। केही दृश्यहरूमा आतङ्कवादीद्वारा सामूहिक बन्दी बनाइएका नेपाली कामदारहरूलाई झल्काउने खालका दृश्यहरू प्रस्तुत गरिएका छन्। चलचित्रका अभिनेता प्रमोद चौलागाईंले बन्दी अवस्थामै नेपालमा पठाएको भिडियो सन्देश टेलिभिजनमा प्रसारण भइरहेको देखिने दृश्यले दर्शकलाई भावुक बनाउनेछ।

चलचित्रका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’ लाई हरेक नेपालीको कथा भएको बताएका छन्। “यस चलचित्रले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूको वास्तविकता र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्नेछ,” निर्देशक पोखरेलले ट्रेलर सार्वजनिक कार्यक्रममा भने।

चलचित्रको शीर्षक ‘रियाल रिङ्गेट’ प्रतीकात्मक छ। ‘रियाल’ साउदी अरेबिया तथा कतारको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको। यी मुलुकहरू नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य हुन्। शीर्षकले नै लाखौँ नेपालीको जीवनगाथा बोल्ने प्रयास गरेको छ। चलचित्रमा प्रमोद चौलागाईं र निता ढुङ्गानासँगै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल र विमला गिरीको अभिनय रहेको छ। चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन्।

प्राविधिक पक्षमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ।

गीतसङ्गीततर्फ रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीतमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेले स्वर दिएका छन्। गीतका शब्दहरू अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन्। चलचित्रको छायांकन भारतको राजस्थान र नेपालका चितवन, काठमाडौं तथा लेटाङमा गरिएको हो। ‘रियाल रिङ्गेट’ लाई काफिया फिल्म्सले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.