काठमाडौं :
अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यु’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। उनलाई निर्माण टिमले बिहीबार औपचारिक रूपमा फिल्मका लागि अनुबन्ध गरेको हुन्।
उनी यो फिल्ममा फाइनल भएसँगै निर्माण टिम उत्साहित बनेको छ। किनभने उनको यो फिल्ममा आगमन भएसँगै मुख्य कलाकार टिम झनै मजबुत बनेको छ। यसअघि यस फिल्मका लागि दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्। अब सौगातको आगमनले फिल्ममा दुई शक्तिशाली अभिनेताको पुनर्मिलनले फिल्म सशक्त बन्ने देखिन्छ। यता दर्शकमाझ थप उत्साह जगाउने निर्माण पक्षको भनाई छ।
फिल्मको कथा महेश राईले लेखेका हुन्, भने निर्माणमा ‘घरज्वाइँ’ जस्तो हिट फिल्मका निर्माता जनक घर्ती मगर रहेका छन्। निर्देशक अनिल र जनको यो दोस्रो सहकार्य हो। फिल्मको सिनेमाटोग्राफीमा शिशिर बिशङ्खे रहनेछन् भने ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’को ब्यानरमा यो फिल्म निर्माण हुँदैछ।
निर्देशक मगरका अनुसार यो फिल्मको छायांकन मंसिर दोस्रो हप्ताबाट सुरु हुने तयारीमा छ। फिल्मको छायांकन पोखरा आसपास र ढोरपाटनमा हुने निर्माण पक्षको भनाई छ। निर्माण पक्षले रिलिज मिति २०८२ सालको चैत २७ गतेलाई लक्षित गरेको समेत जानकारी दिएको छ। दयाहाङ र सौगातको साथमा तेरिया मगरको अभिनय र नयाँ कथा–संयोजनले ‘मितज्यु’ नेपाली फिल्म बजारमा बहुप्रतीक्षित प्रोजेक्ट बन्ने संकेत देखिएको छ।