सुचना, समाचार र मनोरन्जन

‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक, लैंगिक पहिचानको विषयमा पहिलो नेपाली ट्रान्स कथा

काठमाडौं :

नेपाली फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मले नेपाली समाजमा लैंगिक पहिचान र पारालैंगिक व्यक्तिको जीवन संघर्षलाई विषयवस्तु बनाएको छ। निर्देशक समुन्द्र भट्ट निर्देशित फिल्म भदौ १३ गते देशभर प्रदर्शनमा आउने घोषणा गरिएको छ।

ट्रेलरमा मुख्य पात्रले आफ्नो लिंगीय पहिचान (ट्रान्सवुमन)स्वीकार गर्ने यात्रालाई केन्द्रमा राखिएको छ। नाजिर हुसेन अभिनीत पात्रले महिलाको पहिरनप्रति आकर्षण राख्ने बाल्यकालदेखि, त्यसलाई अस्वीकार गर्ने पारिवारिक दबाबसम्मको द्वन्द्व स्पष्ट देखिन्छ। विशेषगरी आफ्ना बुवाबाट जबरजस्ती लाउरे बन्नुपर्ने दबाब, समाजबाट हुने तिरस्कार र त्यसले मानसिक द्वन्द्वमा पार्ने प्रभावलाई ट्रेलरमा चित्रण गरिएको छ।

फिल्ममा नाजिर हुसेन ले पारालैंगिक महिलाको भूमिका निर्वाह गरेका छन्। उनको साथमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी जस्ता कलाकारको अभिनय रहेको छ। ‘गुन्यु चोलो : द ड्रेस’ नेपाली फिल्म इतिहासमा पहिलो पूर्णरूपको ट्रान्स स्टोरी आधारित फिल्म भएको दाबी गरिएको छ। फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले नामक कम्पनीले खरिद गरिसकेको छ। यसले फिल्मको अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश सुनिश्चित गरेको देखिन्छ।

फिल्मको सम्पूर्ण पोस्ट(प्रोडक्सन कार्य विदेशमा सम्पन्न गरिएको छ। एडिटिङ, कलर ग्रेडिङ, साउन्ड डिजाइन, मिक्सिङ र ब्याकग्राउन्ड म्युजिक हलिउड शैलीमा गरिएको जनाइएको छ। फिल्ममा हलिउड कलाकार लिजा जेरार्ड को स्वर रहेको छ, जसले ग्ल्याडिएटर–२ मा पनि स्वर दिएकी थिइन्। ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसी द्वारा तयार पारिएको हो।

फिल्म अमेरिकी र नेपाली प्रोडक्सन हाउसबीचको संयुक्त कोल्याबोरेसन मा निर्माण भएको हो। लगानीकर्ता आकाश बुढाथोकी र भि(भन्से जानुबोन हुन्। कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन, सह(निर्माता अनुपम श्रेष्ठ रहेको यस चलचित्रको छायांकन आलोक शुक्ला ले गरेका हुन् भने गीत लेखु सहयात्री को रचना रहेको छ।

‘गुन्यु चोलो : द ड्रेस’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केट मा पनि छनोटमा परेको उल्लेख गरिएको छ, जसले फिल्मको गुणस्तरीयता र अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्ने सम्भावनालाई बल दिएको छ।

Leave A Reply

Your email address will not be published.