काठमाडौं :
गायक तथा अभिनेता प्रकाश सपुतको नयाँ तीज गीत ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक भएको दुई दिनमै ३ लाख २६ हजारभन्दा बढीपटक हेरिएको छ। शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको उक्त गीतले छोटो समयमा नै दर्शकको उल्लेखनीय ध्यान तानेको छ।
भिडियोमा ३० हजारभन्दा बढी लाइक प्राप्त भइसकेको छ। सामाजिक सञ्जालमा दर्शकहरूले गीतको कथा, सन्देश र भिजुअल प्रस्तुतिको प्रशंसा गरेका छन्। केही दर्शकहरूले उक्त भिडियोले ूफिल्मले भन्न नसक्ने कथाू उजागर गरेको प्रतिक्रिया दिएका छन्।
गीतमा प्रकाश सपुतसँगै गायकद्वय समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको छ। गीतको शब्द, संगीत तथा निर्देशन प्रकाश सपुतले स्वयं गरेका हुन्।
‘बदला बरिलै २’ शीर्षकमा आएको यो गीतको भिडियोमा अभिनेत्री रेखा थापा, सिम्रन खड्का, सन्जोग रसाइली र प्रकाश सपुतको अभिनय देख्न सकिन्छ। यो रेखा थापाको दुई दशकपछि अभिनय गरिएको दोस्रो म्युजिक भिडियो हो। यसअघि उनले गायक आनन्द कार्कीको गीतमा मोडलिङ गरेकी थिइन्। निर्माण पक्षका अनुसार, गीतले परम्परागत तीज गीतभन्दा फरक ढंगले सामाजिक सन्देश दिने प्रयास गरेको छ।