काठमाडौं :
‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि अभिनेत्री केकी अधिकारीको व्यस्थता बढेको छ। एकपछि अर्को चलचित्र प्रदर्शन हुने क्रममा अब यही ६ गते उनको चलचित्र चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’ रिलिज हुँदै छ।
यसमा उनी चलचित्रको मुख्य पात्र विजय बरालको दिदीको भूमिकामा छिन्। भाइको जिन्दगीले लय समातोस् भनेर आफू श्रीमानको दमन र खप्की सहेर बस्ने दिदी हुन्।आफ्नो दुःख लुकाएर अरूको खुसीका लागि जिउने पात्र हुन्, उनी। जब भाइले उनी घरेलु हिम्सा सहेर बसिरहेको थाहा पाउँछ, त्यसको प्रतिकार गर्न खोज्दा उनी भाइलाई कराउँछिन्, त्यो आफू अँध्यारोमा बसेर अरुलाई उज्यालो दिने चाहनाले हो। चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागोहरू’को ट्रेलरमा पनि उनी भाइका लागि आफ्ना सपनाहरू बिर्सिने पात्रका रूपमा देखिएकी छिन्।
यसका पछाडि पहिलो उनको दयालु स्वभाव हो, अर्को परिबन्धको दुष्चक्रमा फस्दाको परिणाम हो। किनकी यथार्थमा उनी सपना खोज्नका लागि गाउँ छोडेर काठमाडौं आएको पात्र हो । केकीले आफू चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागोहरू’मा सानो उमेरमै ठूलो सपना बोकेर काठमाडौं आएकी गाउँले युवतीको भूमिकामा रहेको बताएकी छिन्।
“तर, समय र पस्थितिले उसलाई यस्तो मोडमा लिएर जान्छ, जहाँ मलाई मेरो सपना नै याद छैन। त्यस्ता धेरै महिला आज काठमाडौंमा हुनुहुन्छ,” केकी भन्छिन्, “त्यस्ता महिलामध्ये एक महिलाको पात्र मैले यो चलचित्रमा निभाएकी छु।”
भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा केकी र विजयसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्। थानेश्वर गौतम, अर्जुन पोखरेल,एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।
गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ। अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।