काठमाडौं :
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म ‘माइतीघर’ को प्रचार अभियान तातिएको छ। असोज १३ गते प्रदर्शन तय भएको फिल्मको शीर्ष गीतको भव्य छायांकन सकिएको निर्माण पक्षले जनाएको छ।
११ दिन लामो छायांकन र ५० लाख रुपैयाँको लगानीमा तयार भएको गीतको भिडियोलाई कोरियोग्राफर कविराज गहतराजले निर्देशित गरेका छन्। निर्माता रोहित अधिकारीका अनुसार, पहिले खिचिएको बागलुङको दृश्यलाई हटाएर सम्पूर्ण भिडिओ नयाँ शैलीमा पुनः खिचिएको हो।
गीतमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको मुख्य नृत्य प्रस्तुति रहेको छ। साथै, जम्बो कोरस टोली समावेश गरिएकाले बजेट उल्लेखनीय रूपमा बढेको बताइएको छ।
गीतको भिडियो आउँदो साता सार्वजनिक हुने तयारीमा छ। भिडियोसँगै निर्माण पक्षले ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो प्रतियोगिता पनि घोषणा गरेको छ, जसमा विजेतालाई ५ लाख रुपैयाँ पुरस्कार दिइनेछ।
गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर समावेश गरिएको छ। मिलन तामाङ निर्देशित फिल्ममा केदार प्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्ममा चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा/संवाद, सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, र रविन शेरचन तथा धिरज तामाङको लगानी छ। कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल छन्।