सुचना, समाचार र मनोरन्जन

युके जाने विद्यार्थीका लागि प्रि-डिपार्चर ओरियन्टेशन पोखरामा सम्पन्न

पोखरा :

युनाइटेड किङ्गडम (युके) अध्ययनका लागि भिसा प्राप्त गरेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै जी एण्ड के (G&K) इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट्सले पोखराको होटल बाराही, लेकसाइडमा प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम सम्पन्न गरेको छ।

भदौ १३ गते सम्पन्न उक्त कार्यक्रममार्फत विद्यार्थीहरूलाई युकेको शैक्षिक प्रणाली, सांस्कृतिक अनुकूलन, अवसर र चुनौतीका विषयमा जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा करिब ४० जना विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमकी विशेष अतिथि संविधानसभाका पूर्वसदस्य तथा जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले विद्यार्थीहरूलाई अध्ययनपछि नेपाल फर्किएर मुलुकको विकासमा योगदान गर्न आग्रह गरिन्।

कार्यक्रमका मुख्य वक्ता युके-रिटर्ने युवा उद्यमी तथा स्वप्ना बग रिसोर्टका प्रबन्ध निर्देशक असिम गुरुङले विदेशमा विद्यार्थीहरूले भोग्ने अनुभव, अवसर र चुनौतीहरूबारे आफ्ना अनुभव सुनाउँदै विद्यार्थीहरूलाई आशावादी र जिम्मेवार बन्न प्रेरित गरे।

कार्यक्रमको अध्यक्षता G&K इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट्सका प्रमुख कार्यकारी अधिकृत (CEO) राजन पन्थीले गरेका थिए। उनले भने, “हामी केवल विद्यार्थीहरूलाई विदेश पठाउने मात्र होइन, नयाँ परिवेशमा आत्मविश्वासका साथ अघि बढ्न सक्षम बनाउने लक्ष्य लिएका छौँ।”

ओरियन्टेशनका क्रममा सहभागी विद्यार्थीहरूलाई ‘स्मृतिचिन्ह’ प्रदान गरिएको थियो भने युकेमा अध्ययन गर्न जाँदा अपनाउनुपर्ने व्यवहार, तयारी र जिम्मेवारीका विषयमा जानकारीमूलक सत्रहरू सञ्चालन गरिएको थियो।

Leave A Reply

Your email address will not be published.