सुचना, समाचार र मनोरन्जन

नेपालसहित दर्जनबढि देशमा ‘युट्यूव मुभिज ट्रेन्डिङ चार्ड’तर्फ शीर्ष स्थानमा ‘जेरी अन टप’

काठमाडौं  :

हालै सार्वजनिक भएको नेपाली फिल्म ‘जेरी अन टप’ को टिजरले रिलिजसँगै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुल्दै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा स्थान बनाउन सफल भएको छ। सोमबार सार्वजनिक भएको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमार्फत मात्रै १५ लाखभन्दा बढी पटक हेरिएको छ।

सगरमाथा आरोहणको कथा समेटिएको फिल्मको टिजर नेपालसहित दर्जनभन्दा बढी देशमा युट्युबको Movies Trending Chart मा अग्र स्थानमा पुगेको छ। यसले फिल्मको अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो सम्भावना रहेको संकेत दिएको छ।

फिल्मप्रति सामाजिक सञ्जालमा उल्लेख्य क्रेज देखिएको छ। युट्युब, इन्स्टाग्राम र फेसबुकमा पोस्ट भएका विभिन्न रियाक्सन र समीक्षा भिडियोहरूमा दर्शकहरूले टिजरको दृश्य, अभिनय, भिएफएक्स, संगीत र ब्याकग्राउण्ड स्कोरको खुलेर प्रशंसा गरेका छन्।

फिल्म ‘जेरी अन टप’ मा अनमोल केसी, आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’,भुवन केसी, उषा उप्रेती र सुरक्षा पन्तजस्ता चर्चित कलाकारहरू मुख्य भूमिकामा छन्। निर्देशक सुयोग गुरुङको निर्देशनमा तयार भएको यो फिल्म असोज ३१ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ।

फिल्मको कथा हेमराज बिसीको हो भने पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्। छायांकन दुलिप रेग्मीको रहेको छ। संगीतमा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको योगदान छ। उक्त फिल्मलाई नेपालमा रीच इन्टरटेन्मेन्टएफडी कम्पनीले वितरण गर्नेछन्। महंगो बजेटमा निर्माण गरिएको फिल्मलाई वर्षको बहुप्रतिक्षित फिल्ममध्ये एक मानिएको छ।

Leave A Reply

Your email address will not be published.