सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्र र स्मृति सङ्ग्रहालयको अवलोकन

काठमाडौँ,

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनको तियान्जिन पुग्नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवाइगाउँमा धान उत्पादनको विशेष क्षेत्र अवलोकन गरेका छन । उनले हुवाइगाउँ क्षेत्रमा धानबाली, बीउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमूना कार्यबारे जानकारी लिएका हुन ।

यस्तै प्रधानमन्त्री ओलीले नानकाई जिल्लाको चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन समेत गरेका छन । चिनियाँ क्रान्तिका नेता चाउ एनलाई चीनका पूर्वप्रधानमन्त्री हुन ।

आज भएको अवलोकनमा प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधि सभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छङ सङलगायत सहभागी भएका थिए।

चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली हिजो चीन गएका हुन ।

Leave A Reply

Your email address will not be published.