काठमाडौं :
नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को टाइटल ट्रयाक सार्वजनिक भएको छ। र्यापर भियोमाको शब्द, संगीत र स्वर रहेको ट्रयाकमा पैसाको पछाडि लाग्दा व्यक्तिले भोग्नुपर्ने यथार्थ कथा समेटिएको छ।
ट्रयाकमा पैसाका कारण टुट्ने सम्बन्ध, षड्यन्त्र, तनाव र रहस्यले भरिएको जिन्दगी चित्रण गरिएको छ। ‘जिन्दगी नै रहस्यमयी छ’ भन्ने भाव बोकेको गीतमा पैसाले मान्छेको असली चरित्र उजागर गर्ने प्रयास गरिएको छ।
चलचित्र ‘अभिमन्यु’ भदौ २७ गते नेपालीमा र असोज ६ (सेप्टेम्बर २२) मा हिन्दी भर्सनमा विश्वव्यापी रूपमा प्रदर्शनमा आउनेछ।
निर्माण पक्षका अनुसार चलचित्रले पैसाको प्रलोभनमा परेका पात्रहरूको संघर्ष र चक्रव्यूहबाट उम्किन खोज्ने प्रयत्नलाई मुख्य विषय बनाएको छ। यही कथावस्तु गीतमा पनि स्पष्ट झल्किएको छ।
ट्रयाकमा र्यापर भियोमा आफैँ फिचर्ड छन् भने चलचित्रका विभिन्न दृश्यहरू समेत समावेश छन्। गीतले दर्शकलाई चलचित्रको मूल सन्देशको झलक दिएको निर्देशक सुशान्त गौतम बताउँछन्।
चलचित्र ‘अभिमन्यु’ मा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौला लगायत कलाकारको अभिनय रहेको छ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र गुञ्जन गिरी निर्माता, रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन्। चलचित्रमा मुकेश खनालको लेखन, मदन थापाको क्रिएटिभ निर्देशन, र शरद महतोको छायांकन रहेको छ।
प्राविधिक पक्षमा मनोज श्रेष्ठ (VFX), सुप्रिम पराजुली (रंग सम्योजन), मदन घिमिरे (सम्पादन) र जीवन शाक्य (लाइन प्रोड्युसर) रहेका छन्।