सुचना, समाचार र मनोरन्जन

फिल्म ‘पाँच पाण्डव’मा दीपाश्री निरौलाको सरप्राइज भूमिका, बन्दैछिन् ‘फाइटर लेडी’

काठमाडौं :

यहीँ कार्तिक २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’मा अभिनेत्री दीपाश्री निरौलाको भुमिका सरप्राइज रहेको छ। सधैँ दर्शकलाई हँसाइरहेकी निरौलाले यसपटक भने दर्शकमाझ फाइटर लेडीका रुपमा प्रस्तुत हुन लागेकी छन्।

उनीले यो फिल्ममा भीमकी श्रीमतीको भूमिका निर्वाह गरेकी जानकारी दिएकी छन्। यस फिल्ममा जितु नेपालको भुमिका भीम पात्रको छ। यसबारेमा मिडियाकर्मीसँग दीपाले भन्छिन्,‘यसपटक मेरो चरित्र अलिक फरक छ। यो अलिकति फाइटर टाइपको भूमिका हो। मजदुरमाथि कसैले अन्याय गर्‍यो भने सबैभन्दा पहिले मेरो हातखुट्टा चल्छन्।’

आफ्नो प्रवेश हुनेबित्तिकै दर्शकले आफ्नो भुमिकालाई सिठी, ताली र हुटिङले स्वागत गर्ने दाबी गरिन्। उनी थप्छिन्,‘डबिङ गर्दा नै मलाई यस्तो महसुस भएको थियो । मेरो प्रवेश हुने दृश्यहरू निकै धमाकेदार छन्। ती दृश्यमा एकदमै जुझारु नारीको उपस्थिति महसुस हुन्छ। श्रीमानलाई पनि सुरक्षा दिने र उनको पक्षमा उभिने भूमिका छ।’

Pach Pandav

उनले आफ्नो पात्रको चरित्र समेत खुलाएकी छन्। अहिलेसम्मको फिल्म यात्रामा उनले विलकुलै फरक भुमिकामा काम गरेको अनुभव साटेकी छन्। ‘मेरो चरित्रको नाम ‘सितर्नी’ हो । फिल्ममा अरूलाई गाली गर्दा पनि म ‘सितर्नी’ भनेर गाली गर्छु,’दीपाले आफ्नो अनुभव सुनाउँदै भन्छिन्,‘मलाई लाग्छ, यो शब्द दर्शकको मुखमा झुण्डिनेछ।’

वसन्त निरौलाको निर्देशनमा निर्माण भएको यस फिल्ममा दीपाश्रीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायतको मुख्य भूमिका छ। साथै अन्य कलाकारमा सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल लगायतको पनि अभिनय रहेको छ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मको निर्मातामा काली रानी श्रेष्ठ रहेकी छन्। ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ। यो फिल्म ‘सोसल ड्रामा’भएको लेखक पौडेलले स्पष्ट पारेका छन्। उनका अनुसार फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।

श्याम तामाङले खिचेको यो फिल्ममा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन्। गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ। साउन्ड डल्बी एटमस साउन्डमा डब गरिएको यो फिल्मको वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले लिएको छ। साथै फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

Leave A Reply

Your email address will not be published.