काठमाडौँ,
सभामुख देवराज घिमिरेले सरकारले दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्म बन्द गर्ने निर्णय गरेसँगै संसद्को अर्काइभ र अबका बैठक कसरी लाइभ गर्ने हो भन्नेबारे चासो राखेका छन् ।
बिहीबार सरकारले दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि सङ्घीय संसद् सचिवालयको प्रविधि व्यवस्थापन महाशाखासँग संसद्को अर्काइभ र संसद्को आगामी बैठकको प्रत्यक्ष प्रसारणबारे चासो राखेका उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
बिहीबार नै सभामुख घिमिरेले सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलाई युट्युब बन्द भएपछि अबको बैठक कुन प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण गर्ने हो, अहिलेसम्म युट्युबमा अपलोड भएको सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएका थिए । शुक्रबार प्रतिनिधिसभामा सचिव हर्कराज राईलाई पनि यसबारे व्यवस्थापन गर्न सभामुखले निर्देशन दिएका अधिकारीले जानकारी दिए ।
सङ्घीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकको प्रत्यक्ष प्रसारण युट्युबबाट हुँदै आएको थियो ।
अब प्रतिनिधिसभाको बैठक भदौ २५ गते र राष्ट्रियसभाको बैठक भदौ २३ गतेका लागि बोलाइएको छ । ती बैठक कसरी कुन प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण गर्ने हो भन्नेबारे पनि सभामुखले चासो राखेका छन् ।