पोखरा : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले देशको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीका रूपमा शुशिला कार्कीको नियुक्तिलाई ऐतिहासिक अवसरको रूपमा लिँदै उनले हार्दिक बधाई र सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्।
भ्रष्टाचारविरुद्धको जेन-जि आन्दोलनप्रति अटल ऐक्यबद्धता जनाउँदै मेयर आचार्यले केही असामाजिक तत्वहरूले आन्दोलनलाई विकृत बनाएको एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेका छन्। ‘आन्दोलनको पवित्र उद्देश्यलाई बिगार्ने, जनधनको क्षति गर्ने, सरकारी र सार्वजनिक सम्पत्तिमा आगजनी तथा तोडफोड गर्नेहरू बाहिरी तत्व हुन् भन्ने प्रमाणहरू हामीसँग छन्’, उनले भने।
हालै देशभरि फैलिएको जेन-जि आन्दोलनका क्रममा पोखरामा पनि ठूलो जनधनको क्षति भएको छ। आन्दोलनको आवेगका बीचमा प्रमुख आचार्यको निवाससमेत ध्वस्त पारिएको घटनाले मर्माहत भएको बताए।
मेयर आचार्यले आन्दोलनका क्रममा दिवंगत भएका युवाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्, ‘देशले आफ्ना सपना बोकेका असंख्य आँखाहरू गुमाएको पीडामा मेरो मन असाध्यै भारी भएको छ।’ साथै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
२० वर्षअघि बनेको आफ्नो निवासमा तोडफोड र आगजनी भएको घटनालाई लिएर उनले भावुक अभिव्यक्ति दिएका छन्। ‘म महानगर प्रमुख बनेपछि कुनै आर्थिक लाभ लिएको छैन। मेरो नाममा आउने सुविधा समेत सामाजिक कार्यमा खर्च गर्दै आएको छु,’ भन्दै उनले पारदर्शी जीवनशैलीमा प्रश्न उठाउनु अन्यायपूर्ण भएको बताएका छन्।
आफूमाथि निरन्तर अफवाह, भ्रम र मानसिक यातना दिने कार्य भइरहेकोमा दुःख व्यक्त गर्दै उनले भने, ‘मैले कसैको कुभलो गरेको छैन, भविष्यमा पनि गर्ने छैन। तर, अपराधमा संलग्नहरूलाई यस्ता गलत बाटोमै बाँच्न बाध्य हुनुपरोस् भन्ने मात्र प्रार्थना गर्न सक्छु।’
उनले पोखरावासीहरूलाई अत्यावश्यक सेवाको निरन्तरता कायम राख्न कार्यपालिका बैठकमार्फत निर्णय भइरहेको जानकारी दिएका छन्। यस कठिन परिस्थितिमा धैर्य र सहकार्यका लागि उनले सम्पूर्ण नगरवासीहरूलाई आग्रह गरेका छन्।
साथै, कठिन समयमा सान्त्वना, सद्भाव र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले भनेका छन्, ‘हामी सबैलाई थाहा छ – पृथ्वी गोलो छ।’