चितवन,
जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा रु दुई अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै प्रारम्भिक रुपमा रु दुई अर्बभन्दा बढीको क्षति आकलन गरिएको छ । प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकाको कार्यालय आगलागीबाट पूर्णरुपमा क्षतिग्रस्त भएको छ । महानगरको स्वास्थ्य र कृषि कार्यालयमा सामान्य क्षति पुगेको छ ।
महानगरपालिकाका २९ मध्ये २० वटा वडामा क्षति पुगेको छ । वडा नं. २, ९, ११, १२, २०, २५, २७, २८ र २९ बाहेकका कतिपय वडामा पूर्ण रुपमा क्षति पुगेको छ भने कतिपयमा आंशिक क्षति भएको छ ।
पौडेलका अनुसार २६ वटा गाडी, पाँच वटा मोटरसाइकल र एउटा स्कुटर जलेर नष्ट भएका छन् । जलेका गाडीमध्ये दुई वटा दमकल, एउटा ग्रेडर, दुई वटा कम्प्याक्टर, एउटा ब्रुमर, पानी बोक्ने गाडी एक र सेफ्टी ट्यांकी सफाई गाडी एउटा रहेका छन् ।
महानगरपालिकाका गाडी मध्ये प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी बाहिर राखिएकाले सुरक्षित रहेका छन् । त्यस्तै दुईवटा जेसिवि, एउटा कम्प्याक्टर, एउटा दमकल र एउटा ट्याक्टर सुरक्षित रहेको उनले जानकारी दिए।