काठमाडौं :
जेनजी पुस्ताको आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र भवन आजदेखि सञ्चालनमा आउने भएका छन्। आइतबार बसेको नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालन गर्ने निर्णय गरेको हो।
चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोड र आगजनीबाट क्षति पुगेको विराटनगरस्थित क्युएफएक्स बाहेक अन्य सबै भवन नियमित सञ्चालनमा आउनेछन्। उनले सुरक्षालाई उच्च प्राथमिकता दिँदै चलचित्र भवन पुनः सञ्चालनमा ल्याइएको बताए।
दर्शकलाई ‘रिमै’, ‘मोहर’‘गुन्यु चोलो’,‘माग्नेराजा’लगायत एक दर्जन प्रदर्शनमा आइरहेका थिए। तिनै फिल्महरुले निरन्तरता पाउने हल सञ्चालकले जानकारी दिएका छन्। केही विदेशी चलचित्र हेर्न पाइने सङ्घले जनाएको छ। साथै, रात्रिकालीन सो सञ्चालन भए पनि राति १० बजेभित्र भवन बन्द गर्ने व्यवस्था मिलाइनेछ।
दसैँको अवसर पारेर फूलपातीदेखि तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने तयारी भएको सङ्घले जानकारी दिएको छ। भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा विराटनगर, बुटवल, गोङ्गबु र भक्तपुरका चलचित्र भवनमा क्षति पुगेको पनि सङ्घले जनाएको छ।