सुचना, समाचार र मनोरन्जन

प्रहरी चौकी पुनर्निर्माणमा कलाकारको सहयोग

काठमाडौं :

जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका प्रहरी चौकी पुनर्निर्माणका लागि कलाकारहरूले सहयोग जुटाउन थालेका छन्। अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले आफ्नै जन्मथलो काठमाडौंको थानकोटस्थित प्रहरी वृत्तलाई आर्थिक सहयोग गरेका छन्। उनले प्रहरी वृत्त पुगेर डीएसपी एलिजा गिरीलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्।

गत साता भएको आन्दोलनका क्रममा थानकोट प्रहरी कार्यालयमा आगजनी र तोडफोड हुँदा करोडौं मूल्य बराबरका प्रविधि तथा सञ्चार उपकरण, पोशाक र संरचनामा क्षति पुगेको थियो। कार्यालयको नयाँ भवनबाट पाँच महिना अघि मात्रै कामकाज सुरु भएको थियो। प्रारम्भिक अनुमानअनुसार घटनामा करिब ७ करोड रुपैयाँको क्षति भएको छ।

‘यस्तो परिस्थितिमा प्रहरीको मनोबल बढाउन र पुनर्निर्माण अभियानको सुरुवात गर्ने उद्देश्यले सहयोग गरेको हुँ,’ गिरीले भने। उनका अनुसार परिस्थितिअनुसार अन्यत्र पनि सहयोग गर्ने योजना छ। गिरी आगामी साता ‘छक्कापञ्जा टुर’का लागि अमेरिकातर्फ प्रस्थान गर्दैछन्।

यसअघि पनि केही कलाकार र स्वयंसेवकहरूले क्षतिग्रस्त प्रहरी चौकी पुनः सञ्चालनका लागि योगदान दिएका छन्। कमेडियन सजन श्रेष्ठ, प्रभात लामा र सुमन कार्कीले स्थानीय क्लबसँग मिलेर ढल्कुस्थित प्रहरी कार्यालयमा सरसफाइ तथा रङरोगन गरेका थिए।

Leave A Reply

Your email address will not be published.