काठमाडौं :
हरिवंश आचार्यको मुख्य भुमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’लाई जुनसुकै दर्शकले पनि हेर्न पाउने भएका छन्। यो फिल्मलाई केन्द्रिय चलचित्र जांच समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट दिएपछि सबै उमेर समुहका दर्शकले हेर्न पाउने भएका हुन्।
सेन्सर बोर्ड कार्यसमितिका सदस्यहरु यो फिल्मको क्लाइमेक्स हेरेर भावुक बनेको निर्माण टिमले जानकारी दिएका छन्। उनका अनुसार यो फिल्मले हसाउँदा हसाउँदै भावुक बनाउछ।
दिपेन्द्र के खनाल निर्देशित यस फिल्ममाहरिवंशका अलवा स्वस्तिमा खड्का, प्रकाश सपुत,प्रियंका कार्की,हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।
दशैँको फूलपाती अर्थात यहि असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। कृष्ण बहादुर थापाले खिचेको यस फिल्ममा नकुल खड्काले सम्पादन,वसन्त सापकोटा, दीपक शर्मा र अभिनेता प्रकाश सपुतको संगीत रहेको छ। साथै फिल्मका गीतमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईले गाएका छन्।
यो फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो।