सुचना, समाचार र मनोरन्जन

सान्या अधिकारी ‘मिस युनिभर्स नेपाल २०२५’ घोषित

काठमाडौं :

सान्या अधिकारीले ‘मिस युनिभर्स नेपाल २०२५’ को उपाधि जितेकी छन्। बुधबार बेलुका ललितपुरको रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेमा उनले विजेता बनेकी हुन्।

प्रतियोगितामा आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना दोस्रो उपविजेता, एलिना यारी तेस्रो उपविजेता र ज्योती थापा चौथो उपविजेता बने। यसपटकको प्रतिस्पर्धामा १४ जना सुन्दरी सहभागी भएका थिए।

विजेता सान्याले २ लाख रुपैयाँ नगदसहित लाखौं बराबरका उपहार प्राप्त गरेकी छन्। उनी आउँदो नोभेम्बर २१ मा थाइल्याण्डको बैंककमा हुने ७४औं संस्करणको ‘मिस युनिभर्स’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

मिडियासँगको प्रतिक्रिया दिँदै सान्याले हालैको जेनजी प्रदर्शनका कारण नेपालमा पर्यटन प्रभावित भएको उल्लेख गर्दै विदेशी पर्यटकलाई नेपाल शान्त र सुरक्षित भइसकेको सन्देश दिने बताइन्। साथै, उनले मिस युनिभर्स मञ्चमार्फत नेपालको पर्यटनसहित विविध क्षेत्रको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइन्।

मिस युनिभर्स नेपाल २०२५ की राष्ट्रिय निर्देशक संगीता पुरीले विजेताहरुलाई बधाई दिँदै उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा मुलुकको नाम राख्ने विश्वास व्यक्त गरिन्। ग्लोबल ग्ल्यामर भेन्चरले पछिल्ला वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.