सुचना, समाचार र मनोरन्जन

‘मेरो पात्र कौतुहलता पैदा गर्ने खालको छ’ : धिरज मगर

काठमाडौं :

दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’ को बुकिङ खुलिसकेको छ। गीत र ट्रेलर सार्वजनिक भइसकेपछि दर्शकमाझ राम्रो साथ पाएको फिल्मले उत्साहजनक ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

फिल्मका मुख्य नायक धिरज मगर पहिलो पटक मल्टिस्टारर फिल्ममा देखिन लागेका छन् । उनले दुई वर्षअघि नै स्क्रिप्ट पाएको बताउँदै कथा मन परेपछि तुरुन्तै काम गर्ने निर्णय गरेको बताए । “तामाङ संस्कृतिको सेरोफेरोमा तयार भएको कथा र माइतीघर–चेलीको सम्बन्धलाई देखाउने शैली नै मलाई आकर्षित भएको हो,” धिरजले भने ।

उनका अनुसार फिल्ममा आफ्नो पात्र ग्रे सेडमा देखिनेछ । “पुरै नकारात्मक नभए पनि मेरो पात्र कहिले प्रहरीको भेषमा, कहिले विदेशी लाहुरेको रूपमा प्रकट हुन्छ । यसले दर्शकमाझ कौतुहलता र दुविधा दुवै सिर्जना गर्नेछ,” उनले बताए ।

धिरजले फिल्मको क्लाइमेक्सले पूर्ण मनोरञ्जन दिने र दर्शकलाई हाँस्दै–हाँस्दै रुने अवस्थासम्म पुर्याउने विश्वास व्यक्त गरे । पारिवारिक फिल्म भएकाले दशैंमा दर्शकमाझ विशेष हुने उनको भनाइ छ ।

रोहित अधिकारीको निर्माण र मिलन तामाङको निर्देशनमा तयार फिल्ममा धिरजसँगै केदार प्रसाद घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।

Leave A Reply

Your email address will not be published.