काठमाडौं :
नेपालीहरूको महान् चाडपर्व दसैँ–तिहारलाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले ‘दसैँ–तिहार मुभी मेला’ सार्वजनिक गरेको छ । यसअन्तर्गत नेपाली चलचित्रहरू ‘पिताम्बर’, ‘गाउँ आएको बाटो’, ‘होस्टेल ३’ र ‘फेरी रेशम फिलिली’ डिजिटल रूपमा उपलब्ध गराइएको छ ।
दर्शकले यी फिल्महरू सिनेमाघर एपमार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतका उपकरणमा सजिलै हेर्न सक्नेछन् । साथै, क्रोमकास्ट वा वेब ब्राउजर प्रयोग गरी कम्प्युटरमा समेत फिल्म हेर्न सकिने सुविधा दिइएको छ ।
विभिन्न शैली र कथावस्तु समेटिएका यी चलचित्रलाई डिजिटल प्लेटफर्ममार्फत घरमै बसेर हेर्न पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । दसैँ–तिहारको माहोललाई अझ रमाइलो बनाउन गरिएको यस कदमले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लेटफर्ममा थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ ।