सुचना, समाचार र मनोरन्जन

नवघोषित कुमारी आर्यताराको आसन ग्रहण आज

काठमाडौं,

नवघोषित कुमारी आर्यतारा शाक्यले आज आसन ग्रहण गर्ने भएकी छन्।

आर्यतारालाई आज दिउँसो १२:०५ बजेदेखि १२:१६ बजे बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ। त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने छ।

काठमाडौं इटुम्बहालकी आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको हो। कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो।

स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई आज मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएको हो।

विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए।

उनका अनुसार जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीकसमेत मानिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ।

कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको कुमारीघर व्यवस्थापन समितिका संयोजक शाक्यले बताए। कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ।

Leave A Reply

Your email address will not be published.