काठमाडौं :
फूलपातीको दिनदेखि प्रदर्शनमा आएको फिल्म **‘माइतीघर’**ले दर्शकको बलियो साथ पाउँदै देशभर उत्कृष्ट व्यापार गरिरहेको छ। रिलिजसँगै निर्माण टिमले सार्वजनिक गरेको ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा आधारित भिडियो प्रतियोगिताको विजेता घोषणा गरेको छ।
निर्णायक कोरियोग्राफर कविराज गहतराजले हजारभन्दा बढी प्रतिस्पर्धीमध्येबाट विजेता चयन गरेका हुन्। प्रतियोगितामा बुटवलका सुरज सिंजाली मगर र नाश्री डान्स एकेडेमी (कालिकानगर, बुटवल)का बालिकाहरू विजेता घोषित भएका छन्।

निर्माणपक्षका अनुसार, दुवैले समान अंक प्राप्त गरेकाले दुवैलाई विजेता घोषित गरिएको हो। कुल ५ लाख रुपैयाँ पुरस्कार दुई समूहबीच जनही साढे २ लाखका दरले बाँडिने भएको छ।
निर्माता रोहित अधिकारीले भने, “सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरूले निकै उत्कृष्ट प्रस्तुति दिएका थिए। त्यसैले निर्णायकले दुवैलाई विजेता घोषणा गर्नुभयो।”
विजेताको भिडियो फिल्ममै समावेश गरिएको छ, जसले दर्शकबीच थप उत्साह जगाएको छ। मिलन तामाङद्वारा निर्देशित यस फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, र शिशिर वाङ्देललगायत कलाकारहरूको अभिनय छ।
बलियो वर्ड अफ माउथका कारण फिल्मको व्यापार देशभर सुखद रूपमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ।