काठमाडौं :
अभिनेत्री समृद्धि अर्यालले आफू अभिनय गरेको फिल्म ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामा अभिनय गरेको बताएकी छन्। उनले मिडियासँगको कुराकानीमा यस फिल्ममा आफ्नो उपस्थिति महत्वपूर्ण स्थानमा अभिनय गरेको र त्यो दर्शकले अनुभव गर्ने जानकारी दिएकी हुन्।
उनले भनिन्,‘म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ। दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु।’
उनी अभिनेता विजय बरालको अपोजिटमा रहेर काम गरेकी छन्। उनले फिल्ममा विजयको जोनमा नै रहेर काम गर्ने प्रयास गरेको उनले दाबी गरिन्। उनले थपिन्,‘विजय बराल र दयाहाङ राई दुवै जना अग्रज र अब्बल अभिनय गर्ने कलाकार, बोली पनि त्यस्तै राम्रो, त्यसैले च्यालेन्ज त पक्कै थियो। केरा लागि यो चलतित्र सिक्ने मौका बन्यो।’
सुरुमा फिल्मका लागि अफर आउँदा को कलाकार छ भन्दा दयाहाङ र विजय भनेर सुन्दा काम गर्न सक्छु र भन्ने भएको तर पछि यो काम सिक्ने मौका पनि हो भन्ने सोचर स्वीकार गरेको उनको भनाइ छ।
पहिलो फिल्म ‘फर्की फर्की’मा काम गर्दा धेरै नयाँ कलाकार भएकाले काम गर्न सहज भए पनि ‘वरिष्ठ बलराम’मा भने अग्रज अभिनयमा पारंगत कलाकार भएकाले संकोच र सिकाई दुवै भएको उनले बताइन् ।
यद्यपि, चलचित्रमा आफू शो पिस मात्रै नरहेको उनको दाबी छ। दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो रोल रहेको उनको भनाइ छ। उनले भनिन्,‘यो क्यारेक्टर भोलि कति लोकप्रिय हुन्छ, त्यो त थाहा छैन । तर, दर्शकले सम्झिने खालको छ भन्ने लाग्छ।’
‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुनेछ । ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।
फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका छन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन्। लाइन प्रोडुसरमा राम विष्ट छन्।
फिल्ममा मनकृष्ण महर्जनको छायांकन,प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ।
यो फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ।