सुचना, समाचार र मनोरन्जन

‘कबड्डी ५’को मुस्ताङमा छायांकन सुरू, सिर्जना गुरुङको डेब्यु

काठमाडौं :

 नेपाली सिनेमाको चर्चित फ्रेन्चाइज ‘कबड्डी’को पाँचौँ श्रृंखला निर्माण थालिएको छ। चौथो भाग ‘कबड्डी ४ : द फाइनल म्याच’लाई अन्तिम भनेर घोषणा गरिए पनि निर्माण पक्षले नयाँ कथा र शैलीमा ‘कबड्डी ५’ तयार पार्ने भएको हो।

सोमबार मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गरेर औपचारिक रूपमा छायांकन सुरू गरिएको निर्माण पक्षले जनाएको छ। पहिलो दृश्य मुस्ताङकै लार्जुङ बस्तीमा खिचिएको हो।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, र शिशिर वाङ्देललगायत कलाकार पुनः देखिनेछन्। यसपटक पूर्व मिस यूके नेपाल सिर्जना गुरुङले यसै फिल्ममार्फत अभिनय डेब्यु गर्दैछिन्।

त्यसैगरी, ‘कबड्डी’ फ्रेन्चाइजकी लोकप्रिय पात्र रिश्मा गुरुङ (मैयाँ) पनि पाँचौँ भागमा फर्कने भएकी छिन्। उनले पहिलो र दोस्रो भागमा मुख्य भूमिका निभाएकी थिइन् भने तेस्रोमा केमियोमा सीमित र चौथो श्रृंखलामा अनुपस्थित थिइन्। अमेरिकामा बस्दै आएकी उनी हाल नेपाल फर्किएकी छन् र यसै साता फिल्मको सुटिङमा सहभागी हुने जनाइएको छ।

फिल्मका निर्माता मणिराम पोखरेलका अनुसार, यसपटक अभिनेता विपिन कार्की पनि मुख्य भूमिकामा देखिनेछन्। उनी तिहारपछि फिल्मको छायांकनमा जोडिनेछन्।

‘कबड्डी ५’लाई निर्देशक रामबाबु गुरुङले निर्देशन गर्दैछन्। फिल्मको पटकथा गुरुङ र उपेन्द्र सुब्बाले संयुक्त रूपमा लेखेका हुन् भने छायाँकार सञ्जय लामा रहेका छन्। कुल छायांकनको ७० प्रतिशत मुस्ताङमा र बाँकी ३० प्रतिशत काठमाडौंमा हुने बताइएको छ।

Leave A Reply

Your email address will not be published.