सुचना, समाचार र मनोरन्जन

साइन्स फिक्सन फिल्म ‘एक्लो : वान’मा कविताको दमदार उपस्थिति, पहिलो गीत सार्वजनिक

काठमाडौं :

अभिनेत्री कविता नेपालीले पहिलो नेपाली साइन्स फिक्सन फिल्म ‘एक्लो : वान’मार्फत दर्शकमाझ नयाँ रूपमा फर्किएकी छन्। मंगलबार सार्वजनिक गरिएको फिल्मको पहिलो गीत  ‘एक्लै बाँच्नु खुरु खुरु’मा कविताको नृत्य र भावनात्मक प्रस्तुतीले सबैको ध्यान खिचेको छ।

गीतमा कविताले आत्मनिर्भर र दृढ महिलाको पात्रलाई अभिव्यक्त गरेकी छन्। भिडियोमा उनीसँगै अभिनेता सागर राना पनि देखिएका छन्। गीतका शब्द स्वप्निल शर्माका हुन् भने रोहित शाक्यले संगीत भरेका छन्। चर्चित गायिका शान्तिश्री परियारको स्वरमा रहेको यस गीतले महिलाको अन्तरपीडा र आत्मबलको कथा बोल्छ — “रुनुभन्दा बाँच्नु राम्रो” भन्ने सन्देशसहित।

कविता यस फिल्मकी मुख्य अभिनेत्री हुन्। निर्देशक प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा उनीसँगै प्रदीप खड्का, विजय लामा, सुनिल थापा, बेनिशा हमाल, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी लगायतका कलाकारले अभिनय गरेका छन्।

एनआरएन समूहको लगानीमा निर्माण भएको ‘एक्लो : वान’मा प्रदीप खड्का पनि निर्माताको भूमिकामा छन् भने विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता हुन्। बाबु श्रेष्ठले छायांकन र रुपेश गुरुङले सम्पादन गरेका छन्।

गत मे महिनामा यो फिल्मलाई कान्स फिल्म फेस्टिभलमा प्रचार गरिएको थियो। त्यसयता, कविताको प्रमुख भूमिकासहितको यो परियोजना अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा कमाउँदै गएको छ। फिल्म आगामी पुष १७ गतेबाट प्रदर्शनमा आउनेछ। अभिनेत्री कविता नेपालीका अनुसार, “‘एक्लो’ मेरो करियरको एउटा टर्निङ प्वाइन्ट बन्नेछ। यो भूमिकाले मभित्रको नयाँ पक्ष दर्शकले देख्नेछन्।”

Leave A Reply

Your email address will not be published.