सुचना, समाचार र मनोरन्जन

फेरि बन्ने भयो ‘कहाँ भेटिएला’, स्वर्गीय श्रीकृष्ण श्रेष्ठको फिल्म,यस फिल्ममा केदार घिमिरे, धीरज मगर

काठमाडौं :

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको चर्चित फिल्म ‘कहाँ भेटिएला’को शीर्षकमा पुनः नयाँ फिल्म बन्ने भएको छ। १६ वर्षअघि निर्देशक स्व. शिव रेग्मीले निर्देशन गरेको यो फिल्मलाई अहिलेका चर्चित निर्देशक मिलन तामाङले नयाँ भर्सनमा पुनर्जीवित गर्न लागेका हुन्।

मंगलबार राजधानीमा आयोजित एक समारोहबीच फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले यस परियोजनाको औपचारिक घोषणा गरेको हो। पोस्टरमा एक युवतीलाई कसैको पर्खाइमा उभिएको रूपमा देखाइएको छ, जसले फिल्मको कथा प्रेम र पर्खाइमा केन्द्रित हुने संकेत गर्छ।

फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरु गरी जेठ अन्त्यसम्म पूरा गर्ने लक्ष्य राखिएको छ। निर्माण टिमले कलाकारहरूको नाम औपचारिक रूपमा नखोल्दा पनि, चलचित्र विकास बोर्डबाट प्राप्त निर्माण अनुमतिमा केदार घिमिरे, धीरज मगर, बुद्धि तामाङ र श्यामाश्री शेर्पाको नाम उल्लेख गरिएको छ। यी सबै कलाकारसँग निर्देशक तामाङले आफ्नो पछिल्लो फिल्म ‘माइतीघर’मा काम गरिसकेका छन्।

सन् २००८ मा सार्वजनिक मूल ‘कहाँ भेटिएला’ फिल्मलाई नेपाली फिल्म इतिहासमा कालजयी प्रेमकथाका रूपमा सम्झिन्छ। त्यसका ‘मन खोज्ने मायालुलाई’, ‘दिन दिउँ कि तिमीलाई रात दिउँ कि’, र ‘त्यो ओठमा हाँस्न पाऊँ’ जस्ता गीतहरू आज पनि दर्शकको मनमा ताजा छन्।

अब यही शीर्षकमा बन्न लागेको नयाँ ‘कहाँ भेटिएला’ फिल्मले पुरानो भावनालाई नयाँ रूप र दृष्टिकोणसहित पुनः जागृत गर्ने अपेक्षा गरिएको छ। दर्शकको मनमा श्रीकृष्ण श्रेष्ठको सम्झना गहिरो छ, र अब यो फिल्मले त्यो भावनालाई नयाँ पुस्तासम्म पु-याउने प्रयास गर्ने निर्देशक तामाङको विश्वास छ।

Leave A Reply

Your email address will not be published.