काठमाडौं :
चर्चित गायक तथा स्टेज पर्फमर दुर्गेश थापा आफ्नो पहिलो अमेरिका टुरका लागि मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्। उनले अमेरिकाका विभिन्न ११ सहरमा सांगीतिक प्रस्तुति दिनेछन्।
दुर्गेशको पहिलो कार्यक्रम अक्टोबर १७ शुक्रबार मा अस्टिन, टेक्सासबाट सुरु हुने र नोभेम्बर २२ मा डल्लास, टेक्सासमा समाप्त हुने बताइएको छ। सो अवधिमा उनले न्युयोर्क, बाल्टिमोर, कोलम्बस, कोलोराडोलगायतका सहरहरूमा निरन्तर प्रस्तुति दिने कार्यक्रम तय भएको छ।
यो टुर आरएनआर ग्रुप्स एलएलसी -रोशन पुरी_, पाण्डे होम्स एलएलसी -गणेश पाण्डे र एकेबी कम्पनी एलएलसी अशिष भडेलले संयुक्त रूपमा आयोजना गरेका हुन्। पहिलो अमेरिका टुर भएकाले दुर्गेश आफैं पनि उत्साहित देखिएका छन्।
कार्यक्रममा दुर्गेशले आफ्ना लोकप्रिय गीतहरू ‘दुश्मन हेरेको हेरेई’, ‘जाने भए जाम माया’ लगायतका हिट नम्बरहरू प्रस्तुत गर्नेछन्। साथै, नोभेम्बर १ मा भर्जिनियामा हुने विशेष कार्यक्रममा गायिका मेलिना राई पनि दुर्गेशसँगै स्टेजमा प्रस्तुत हुने भएकी छन्।
दुर्गेशको यो टुरलाई आयोजकहरूले अमेरिकामा रहेका नेपाली दर्शकमाझको ठूलो सांगीतिक उत्सवका रूपमा प्रचार गरेका छन्। उनीप्रति विदेशस्थित नेपाली समुदायको उत्साह उच्च रहेको र प्रत्येक कार्यक्रममा उल्लेखनीय उपस्थितिको अपेक्षा गरिएको छ।