सुचना, समाचार र मनोरन्जन

निर्देशक बबिता श्रेष्ठको ‘निधार खाली भो’ सार्वजनिक, तिहारको संवेदनशील भावनामा आधारित भिडियो

काठमाडौं :

सक्रिय र सशक्त भिडियो निर्देशकका रूपमा पहिचान बनाउँदै आएकी बबिता श्रेष्ठले तिहार लक्षित नयाँ गीत ‘निधार खाली भो’को भिडियो सार्वजनिक गरेकी छन्। गीतमा तिहारको चाडसँग जोडिएको एक मर्मस्पर्शी कथालाई यथार्थ र भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ।

भिडियोमा परदेशमा रहेका दाजुभाइ तिहारमा घर फर्किन नसक्दा, चेलीको प्रतीक्षाभावलाई दर्शाइएको छ। कथा तब झनै दर्दनाक बन्छ, जब उनी प्रतीक्षा गरिरहेकी बेला बाकसमा दाजुभाइको लास घर आइपुग्छ। यही क्षणको पीडालाई निर्देशक श्रेष्ठले अत्यन्त संवेदनशील रूपमा चित्रण गरेकी छन्।

गीतमा बिमल अधिकारी, बिना राउत, कमल ताम्राकार, लक्ष्मी भण्डारी र नव थापाले जिवन्त अभिनय गरेका छन्।  गीतका शब्द दिनेश सुवेदीका, संगीत सन्तोष प्रगाढको र स्वर कमल घले तथा जुनु प्रसाईको रहेको छ। भिडियोमा पोस्टर राजेन्द्र पुरी, छायांकन मुकेश हुमागाई टिम, र सम्पादन विकास दाहालले जिम्मेवारी सम्हालेका छन्।

निर्देशक बबिता श्रेष्ठले आफ्नो पछिल्लो प्रस्तुतिलाई पनि दर्शकले मनपराउनेमा आत्मविश्वास व्यक्त गर्दै भनिन् — “यो गीतले तिहारको रंगीन वातावरणभित्र लुकेका दर्द र यथार्थलाई देखाउने प्रयास गरेको छु। दर्शकले यसलाई महसुस गरेर माया दिनुहुनेछ भन्ने विश्वास छ।”

‘निधार खाली भो’ बबिता श्रेष्ठको निर्देशनमा बनेका उत्कृष्ट भावनात्मक सिर्जनामध्ये एक मानिएको छ।

https://www.youtube.com/watch?v=lIFVrVJuems

Leave A Reply

Your email address will not be published.