सुचना, समाचार र मनोरन्जन

‘सोल्टिनी’को नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक, कलाकार टोली देशव्यापी देउसी–भैलो यात्रामा

काठमाडौं :

कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’ ले नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक गरेको छ। गीतमा शब्द तथा संगीत प्रशान्त सिवाकोटीको रहेको छ भने स्वर सिवाकोटी र गायिका झुमा लिम्बुले दिएका छन्। मधुर लय र गहिरो भावनाले भरिएको गीतले चलचित्रको भावनात्मक पक्ष झल्काएको छ।

निर्देशक अर्जुन सुवेदी निर्देशित चलचित्र ‘सोल्टिनी’ अन्तरजातीय प्रेमकथामा आधारित छ। यसले सामाजिक विभेद, समुदायबीचको असमानता र प्रेममा देखिने संघर्षलाई उजागर गर्ने प्रयास गरेको छ। चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा छन्। उनीहरूसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायतका कलाकारको अभिनय रहेको छ।

यसअघि सार्वजनिक ट्रेलरले चलचित्रप्रति दर्शकको चासो बढाएको थियो। ट्रेलरमा सामाजिक सन्देशसहितको प्रेमकथा प्रस्तुत गरिएको छ, जसले ‘सोल्टिनी’लाई केवल मनोरञ्जन नभई सामाजिक चेतना फैलाउने चलचित्रका रूपमा पनि स्थापित गर्ने संकेत गर्छ।

चलचित्रको प्रचारका क्रममा निर्माण टिमले देशव्यापी देउसी–भैलो अभियान सुरु गर्न लागेको छ। प्रोजेक्ट सुजन खतिवडाका अनुसार, पहिलो दिन कार्तिक २ गते झापा (दमक), दोस्रो दिन कार्तिक ३ गते सुनसरी (धरान), तेस्रो दिन कार्तिक ४ गते कास्की (पोखरा) र अन्तिम दिन कार्तिक ५ गते काठमाडौंमा देउसी–भैलो कार्यक्रम आयोजना गरिनेछ।

खतिवडाले बताएअनुसार,यी कार्यक्रममार्फत कलाकार टोलीले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रप्रतिको ऊर्जा साट्ने र सांस्कृतिक माहोलमै नेपाली चलचित्रको प्रचार गर्ने उद्देश्य राखिएको छ।

Leave A Reply

Your email address will not be published.