काठमाडौं :
शुभ दीपावली २०८२ लाई लक्षित गर्दै तयार गरिएको नयाँ गीत ‘जेन्जी तिहार’ सार्वजनिक गरिएको छ। उक्त गीतले गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा युवा पुस्ताले प्रकट गरेको आक्रोश र राज्यद्वारा गरिएको दमनको पीडा प्रतिबिम्बित गरेको छ।
गीतका शब्द तुलसी बाँस्कोटा र सजिना लामिछानेले लेखेका हुन् भने संगीत बाँस्कोटा र चलचित्र निर्देशक आरबी खत्री शरदले संयुक्त रूपमा दिएका छन्। राजिव शाहले गीतको संगीत संयोजन, रेकर्डिङ तथा मास्टरिङ गरेका छन्। गीतमा आरबी खत्री शरद, श्रद्धा दियाली, रमेश मैनाली, राजिव शाह र निर्मला कार्कीको स्वर रहेको छ।
भिडियोमा आरबी खत्री शरद, लक्ष्मीनाथ तिमल्सिना, सरिता भण्डारी, सजिना लामिछाने, रमेश मैनाली, शिव मैनाली, राज धामी, लक्ष्मी जोशी, पिय्रा कार्की, पार्वती अधिकारी भट्टराई, श्रीदा क्षेत्री, बिन्दु श्रेष्ठ, तेजी कुँवर, सपना देवकोटा, अनिल राई, गीता ओली, सुजिता खत्री र लक्ष्मी सिवाकोटीलगायतका कलाकारले अभिनय गरेका छन्।
गीतको कोरियोग्राफी दिनेश लिम्बुले, निर्देशन आरबी खत्री शरदले, छायांकन राज पोख्रेलले र सम्पादन राज धामीले गरेका छन्। ‘जेन्जी तिहार’ ले देशमा फैलिएको भ्रष्टाचार, असमानता र पुरानो राजनीतिक संस्कृतिप्रति असन्तोष व्यक्त गर्दै युवा पुस्ताको विद्रोही भावना प्रस्तुत गरेको छ। साथै, आन्दोलनमा संलग्न युवा मारिएपछि आमा विक्षिप्त बन्नु परेको मार्मिक दृश्यले भिडियोलाई भावनात्मक बनाएको छ।