सुचना, समाचार र मनोरन्जन

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई हवाई भाडामा ८० प्रतिशतसम्म छुट

काठमाडौँ,

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई हवाई भाडामा ५० देखि ८० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।

यो निर्णय आजैबाट लागू गर्न प्राधिकरणले सबै वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। शुक्रबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष तथा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबिच भएको बैठकले हवाई यात्रालाई थप सहज र सहुलियतपूर्ण बनाउन यस्तो सहमति गरेको हो ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिअनुसार अब ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले नेपाल सरकारले तोकेको अधिकतम हवाई भाडामा सबै सेक्टरमा ५० प्रतिशत छुट पाउनेछन् ।

त्यसैगरी ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले ७० प्रतिशत र ८० वर्ष नाघेका ज्येष्ठ नागरिकले ८० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । यो व्यवस्थाले हवाई यात्रा गर्न चाहने पाका उमेरका नागरिकलाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

यसका साथै जुनसुकै उमेर समूहका अपाङ्गता भएका यात्रुहरूका लागि पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुने गरी व्यवस्था मिलाइएको छ ।

प्राधिकरणले बैठकमा भएको सहमतिअनुसारका विषयहरू आजैबाट कार्यान्वयन गर्न सबै वायुसेवा कम्पनीहरूलाई सूचनामार्फत निर्देशन दिइसकेको जनाएको छ ।

यो निर्णयले सामाजिक उत्तरदायित्व बहन गर्दै हवाई सेवालाई थप समावेशी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

Leave A Reply

Your email address will not be published.