काठमाडौं :
कात्तिक ६ गते भाइटीकाको दिन प्रदर्शनमा आउने फिल्म ‘वरिष्ठ बलराम’ बाट अभिनेता विजय बराल फेरि एकपटक दर्शकमाझ आउने भएका छन्। ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णेको भूमिकाबाट मेनस्ट्रिम कलाकारका रूपमा पहिचान बनाएका विजय यस फिल्ममा एकदमै फरक अवतारमा देखिने भएका हुन्।
‘पूर्ण बहादुरको सारङ्गी’मा बुढो गाइनेको भूमिकामा देखिएका विजय *‘वरिष्ठ बलराम’*मा युवा, ऊर्जावान र विद्रोही पात्रका रूपमा प्रस्तुत हुँदैछन्। उनी समाजमा वरिष्टको छवि बनाएर बसेका पात्र (दयाहाङ राई)लाई चुनौती दिने भूमिकामा छन्। फिल्ममा धर्म, जिम्मेवारी, प्रेम र सत्ता–संघर्षको त्रिकोणबीच उनले सशक्त अभिनय गरेका छन्।
फिल्ममा विजयको पात्र “बले” नामले चिनिन्छ, जसले दयाहाङको “वरिष्ठ”सँग कुम जुधाउँछ। उनी बलेकै रूपमा रहन्छन् वा बलराम बन्छन् भन्ने कुरा निर्माणपक्षले खुलाएका छैनन्। तर, यी दुईबीचको द्वन्द्व फिल्मको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ।
विजय बराल भन्छन्, “पूर्णेको पात्रजस्तै ‘बले’ पनि दर्शकको मनमा बसोस् भन्ने चाहना छ। तर, सजिलो छैन। कहिलेकाहीँ सरल कुरा नै हिट हुन्छ भन्ने विश्वास छ।”
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको हो।
फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय रहेको छ। पटकथा महेश दवाडीले लेखेका हुन् भने कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ।
निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की छन्। कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी. घिमिरे हुन् भने लाइन प्रोड्युसर राम विष्ट हुन्। मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएन र बाहिरका क्षेत्रमा कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।