पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न तीन स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पोखराका विभिन्न तीन स्थानबाट पक्राउ गरिएका उनीहरूको साथबाट नगद छ लाख दुई हजार एक सय पाँच रुपैयाँ बरामद भएको छ।
पोखरा महानगरपालिका–९ नयाँ बजारमा जुवा तास खेलिरहेका र खेलाउने पाँच जना पक्राउ परेका छन्। उनीहरूको साथबाट दुई लाख ५१ हजार चार सय ४५ रुपैयाँ बरामद भएको छ। पोखरा महानगरपालिका–२६ विजयपुर स्थित लप्सी बोट सामुदायिक जङ्गलमा कौडा खेलिरहेको र खेलाउने सात जना व्यक्तिहरू पक्राउ परेका छन्। उनीहरूको साथबाट ७७ हजार दुई सय पाँच रुपैयाँ बरामद भएको छ।
यस्तै पोखरा महानगरपालिका–२ मोहरिया टोलमा पनि जुवा तास खेलिरहेका र खेलाउने आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट दुई लाख ७३ हजार चार सय ४५ रुपैयाँ बरामद भएको छ।
जुवा तास तथा यसबाट उत्पन्न हुन सक्ने कुनै पनि प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रणको लागि कास्की प्रहरीले तिहारको अवसरमा निगरानी बढाइरहेको छ। अहिले पक्राउ परेका २० जनामाथि अनुसन्धान भइरहेको र सूचनाका आधारमा अन्य स्थानहरूमा पनि निगरानी बढाइएको सूचना अधिकारी बस्नेतले बताए।