काठमाडौँ,
जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात मोन्था का कारण नेपालमा पनि ठूलो पानी पर्न सक्ने जनाएको छ ।
विभागले आज प्रेस विज्ञप्ति निकालेर मोन्था को प्रभावले पर्सि बिहीवार दिउँसोदेखि शनिवार बिहानसम्म बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने जानकारी गराएको हो । मोन्था आज राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेकोले उत्तरतर्फ सर्दै १३ गते बिहीवार दिउँसोदेखि १५ गते शनिवार बिहानसम्म नेपालमा प्रभाव पार्ने विभागको विज्ञप्तिमा उल्लेख छ ।
प्रणालीको प्रभावले मधेश र कोशीका धेरै तथा बागमतीका केही ठाउँमा मध्यम तथा मधेश र कोशी प्रदेशका एक÷दुई ठाउँमा अत्यधिक वर्षाको पनि सम्भावना रहेको छ ।
विभागका अनुसार वर्षाका कारण विभिन्न नदीमा पानीको बहाव उल्लेखनीय बढेर सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान छ । बागमती प्रदेशका काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको विभागले जनाएको छ ।