सुचना, समाचार र मनोरन्जन

‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङको एकल सांस्कृतिक प्रस्तुति सम्पन्न

काठमाडौँ :

नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ गायक कमल बी.के. ‘निर्मोही’ लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ बाट सम्मानित गरिएको छ। नेपाली गीत–संगीतमा उनले पु¥याएको दीर्घ साधना र उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई नगद रु. ५१ हजार, सम्मानपत्र र दोसल्ला सहित सम्मान प्रदान गरिएको हो।

गायक निर्मोही पछिल्ला वर्षहरूमा मृगौला रोगबाट पीडित रहे पनि निरन्तर सांगीतिक सिर्जनामा सक्रिय छन्। उनका ‘बुलबुल तालैमा’, ‘आऊँ त भने’, ‘मैले भन्थें नि’, ‘सलल बग्ने’, ‘ताने झैँ माया’, ‘अरू मैले’, ‘भेरी दोभान’ र ‘लाग्यो माया’ जस्ता गीत आज पनि श्रोतामाझ लोकप्रिय छन्। साथै, उनी एक कुशल रेडियोकर्मी समेत हुन्।

राजधानी काठमाडौंमा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा सांगीतिक क्षेत्रका वरिष्ठ कलाकार, स्रष्टा, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।

पुरस्कारका संरक्षक गायक तथा संगीतकार कन्हैया सिंह परियार का अनुसार, पुरस्कारको उद्देश्य नेपाली संगीतमा योगदान पुर्‍याएका अग्रज स्रष्टा तथा कलाकारलाई जीवनकालमै सम्मान गर्ने हो। उनले भने, “यो सम्मानले कलाकारको मनमा खुसी, जीवनमा उत्साह र सर्जनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।”

त्यसैगरी, कार्यक्रम संयोजक किर्तिमान संगीतकार सन्तोष श्रेष्ठ ले कार्यक्रममा पुरस्कारको उद्देश्य, उपादेयता र प्रभावकारिताबारे प्रकाश पारे।

प्रमुख अतिथि दिनेश डि.सी. ले पुरस्कारले गीत–संगीतमा आवद्ध कलाकारहरूलाई नगद राशीसहित सम्मान गर्नु प्रशंसनीय रहेको बताउँदै भने, “यस्ता कार्यक्रमहरूले कलाकारमा नयाँ ऊर्जा र सिर्जनाको प्रेरणा जगाउँछन्, त्यसैले यस्ता आयोजनाहरू निरन्तर हुन आवश्यक छ।” उनले प्रवासमा रहेर पनि नेपाली संगीतको विकासमा योगदान पुर्‍याएकोमा संरक्षक कन्हैया सिंह परियार र गायिका अञ्जना गुरुङ लाई धन्यवाद व्यक्त गरे।

एरा प्रोडक्सन को व्यवस्थापनमा आयोजित उक्त कार्यक्रमको सञ्चालन रेडियोकर्मी हेम सुवेदी ले गरेका थिए। निर्देशक माधव खरेल सदस्य सचिव र टिका गोपाल एम. क्रियशनकी अध्यक्ष गीता सिंह कार्यक्रमकी सभापति थिइन्।

Leave A Reply

Your email address will not be published.